नेपाली कांग्रेसको घोषणापत्रमा– शिक्षा

काठमाडौं, वैशाख १४। नेपाली कांग्रेसले स्थानीय सरकारको ५ वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीहरुलाई शतप्रतिशत साक्षर गराउने संकल्प गरेको छ । “नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ” भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचन २०७४ मा होमिन लागेको नेपाली कांग्रेसले मंगलबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणापत्रमा सो संकल्प गरेको हो ।
प्रत्येक गाउँ र नगरपालिकामा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराइनुका साथै १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजना अन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने पनि घोषणापत्रमा संकल्प गरिएको छ । यस कार्यक्रम अन्तर्गत देशभरीका न्यूनतम एक लाख युवालाई संलग्न गराइने छ ।
प्रत्येक गाउँपालिका र नगरपालिकामा रोजगारमूलक तथा स्व–उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवं सीप सिकाई शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमूलक तालिम दिइने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख छ । निजी क्षेत्रलाई रोजगारमुखी प्राविधिक शिक्षालय खोल्न प्रोत्साहन गरिनुका साथै एक विपन्न परिवार ः सीप सिकाइ केन्द्रमा एक निशुल्क अवसर कार्यक्रम लागु गरिने पनि घोषणापत्रमा संकल्प गरिएको छ ।
कांग्रेसले शिक्षालाई रोजगारीसंग जोड्न युवा विद्यार्थी, विद्यालय र वैकिङ्ग एवं व्यावसायिक प्रतिष्ठानलाई संलग्न गरी युवा रोजगारी प्रोत्साहित गर्ने नीति अबलम्बन गर्नेछ । साथै, भौगोलिक विकटताको आधारमा सामुदायिक आवासीय विद्यालयहरु निर्माण गरिने र त्यस्ता आवासीय विद्यालयहरुमा अति विपन्न बालबालिकाको लत्ता कपडा, खानपान लगायत सम्पूर्ण खर्च स्थानीय सरकारले व्यहोर्ने पनि कांग्रेसले घोषणापत्र मार्फत दावी गरेको छ ।
माध्यमिक शिक्षाको राष्ट्रिय मानक निर्धारण र विकासका लागि संघीय शिक्षा आयोग गठन गरी निश्चित विषयहरुको पठन–पाठन राष्ट्रिय रुपमा एकै प्रकारका हुने गरी स्थानीय सरकारले आवश्यकता अनुसार थप विषय अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने कांग्रेसले आफ्नो घोषणापत्रमा दावी गरेको छ ।
आधारभूत तहमा तालिम प्राप्त र विषयगत योग्यता भएका शिक्षकको व्यवस्था र आधुनिक प्रविधिमार्फत शिक्षणको व्यवस्था गर्न पुराना स्थायी शिक्षकहरुलाइ स्वैच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रुपान्तरणको योजना लागु गरिने पनि नेपाली कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।
निजी क्षेत्रले मुलुकको विद्यालय शिक्षाको गुणस्तर सुधार्न पु¥याएको योगदानको कदर र उच्च मूल्याङ्कन गदै नेपाली कांग्रेसले निजी क्षेत्रको लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने नीति लिएको छ । साथै निजी क्षेत्रलाई विपन्न तथा वञ्चितिकरणमा परेका वर्गप्रति सामाजिक उत्तरदायित्व देखाउन उत्प्रेरित गरिनेछ । लोकतन्त्र, शान्ति, मानव अधिकार, नैतिक शिक्षा र अहिंसा जस्ता अवधारणालाई विद्यालय स्तरको शैक्षिक पाठ्यक्रममा समावेश गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।
निजी क्षेत्रका विद्यालयहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गरी सामुदायिक विद्यालयका शिक्षकलाई परिणाममुखी र उत्तरदायी तुल्याउने कार्यक्रम कार्यान्वयन गर्नुका साथै विद्यालयहरूमा पुस्तकालय, इन्टरनेट, प्रयोगशालाको प्रबन्ध गरिनेछ र अतिरिक्त क्रियाकलाप सम्बन्धी पूर्वाधार निर्माणमा लगानी बढाइने पनि कांग्रेसको घोषणापत्रमा समावेश गरिएको छ ।
सबै गाउँपालिका र नगरपालिकामा वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालय सहितको एउटा सामुदायिक स्रोत केन्द्र बनाइने र एक वडा–एक पुस्तकालय र एक वडा–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा जोड दिइने कांग्रेसको कार्यक्रम छ ।
एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम संचालन गरी न्यून एवं मध्यम आय भएका परिवारका शिशुहरुको प्रारम्भिक शिक्षालाई समेत सहज बनाइनुका साथसाथै, बालबालिकाहरुको शिक्षाको निरन्तरताका लागि पनि आमाहरुलाई नगद प्रोत्साहन दिइने कांग्रेसको कार्यक्रममा उल्लेख छ ।
विद्यालयको प्राथमिक तहदेखि नै नेपालीहरूबीच प्रचलनमा रहेका विभिन्न जाति, भाषा र संस्कृति तथा सांंस्कृतिक–ऐतिहासिक सम्पदाहरूको संरक्षण र सम्वद्र्धन सम्बन्धी शिक्षालाई अनिवार्य गरिने घोषणापत्रमा जनाइएको छ ।
घोषणापत्रमा उल्लेख भए अनुसार कांग्रेस नेतृत्वको स्थानीय सरकारले शौचालय, सुरक्षा एवं यातायातको अभावबाट छात्राहरूको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरी भर्ना र उत्तीर्ण दर लगायत अन्य सूचकहरुमा छात्र र छात्राबीच स्थानीय तहमा रहेका सबै प्रकारका विभेदको अन्त्य गर्नेे छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.