गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथल्याब सेवा समेत संचालन

बुटवल । स्वस्थ मुटु हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा ३ वर्ष अघि देखि संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथल्याब सेवा समेत संचालन भएको छ । मुटुको सामान्य उपचार समेत गराउन राजधानी धाउनुपर्ने अवस्थामा जर्मनीमा निर्मित विश्व प्रख्यात सिमेन्स कम्पनीको मेसिनबाट मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टि र पेसमेकर राख्ने काम समेत अस्पतालबाट शुरु गरिएपछि यस क्षेत्रका मुटुका विरामीले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बांसबारी काठमाण्डौले लिदै आएको शुल्कमै यस अस्पतालको क्याथ ल्याब बाट शेवा उपलब्ध हुने पनि जनाइएको छ ।
रोटरी क्लब अफ बुटवलले रोटरी फाउण्डेसनको ग्लोबल ग्रान्ट अन्तरगत ६ लाख १५ हजार यु.एस. डलरको यो आयोजना स्वीकृत भएको थियो । रोटरी क्लब अफ बुटवलले १ करोड, रोटरी क्लब अफ सेन्ट्रल बुटवलले ३ करोड र रोटरी फाउन्डेसनबाट २ करोड ५० लाख गरी क्याथल्याब आयोजनामा साढे ६ करोड रुपैया लगानी भएको छ ।
अस्पतालले संचालन गरेको क्याथ ल्याबमा सुनवल नवलपरासी निवासी ५८ वर्षिय राम बहादुर नगरकोटीको एन्जियोप्लाष्टी सफलता पुर्वक सम्पन्न भएको छ । अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समिर गौतम, वरिष्ठ मुटु रोग विशेषज्ञ डा.मुरारी बाराकोटी लगाएतको टिमले उक्त एन्जियोप्लाष्टी गरेका थिए । निजको मुटुको एउटा नली ९० प्रतिशत ब्लक थियो । अस्पतालबाट गरीएको यो पहिलो एन्जियोप्लाष्टी हो ।
अस्पतालले यसै वर्ष देखि मृगौलाका बिरामीहरुलाई निःशुल्क डायलाइसिस सेवा पनि प्रदान गर्दै आएको छ । १७ वटा मेशिनबाट दैनिक ३५ देखि ४० जना विरामीहरुलाई निःशुल्क डाईलाईसिस सेवा उपलब्ध गराईरहेको यो युनिट काठमाण्डौं बाहिरको सबैभन्दा ठूलो डाईलाईसिस युनिट बनेको छ ।
अस्पतालमा अहिले १ सय २८ जना विरामीहरुले सरकारले उपलब्ध गराएको निशुल्क डाईलाईसिस सेवा लिईरहेका छन् । साथै यसै हप्ता देखि आर्थिक रुपले विपन्न व्यक्तिहरुको मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा यस अस्पताल बाट पनि उपलब्ध हुने भएको छ ।
गरिब तथा विपन्न व्यक्तिहरुको मुटुको उपचारमा सरकारले १ लाख रुपैया सम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णय अनुरुप मुटु अस्पतालमा पनि त्यो सेवा उपलब्ध गराईएको अस्पतालको भनाइ छ ।
यसैगरी यसक्षेत्रमा १६ स्लाईस भन्दा बढि क्षमताको कुनैपनि सिटीस्क्यान नरहेकोले यस अस्पतालले १ सय २८ स्लाईसको सिटी स्क्यान खरिद प्रकृयालाई अगाडी बढाएको छ । उक्त मेशिन जडान पश्चात मुटु र मृगौलाको समेत सिटी स्क्यान बुटवलमै गर्न सकिने छ ।
अस्पताल स्थापना कालदेखि नै कोहि कसैको पनि पैसाको कारण ज्यान जानु हुंदैन भन्ने मान्यता अनुरुप गरिब तथा विपन्न वर्गलाई निशुल्क सेवा प्रदान गर्दै आईएको छ । यसलाई अझै निरन्तरता र व्यवस्थीत गर्न गरिब तथा असहाय उपचार अक्षयकोषको स्थापना गरिएको छ ।
विभिन्न चाडपर्व र सार्वजनिक विदाहरुमा अस्पतालको ओपीडी सेवा बन्द हुंदा विरामीहरुलाई पर्न गएको असुविधालाई मनन गरी ३ सय ६५ दिन नै ओपीडी सेवा संचालन गरिएको छ ।
रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०६९ सालमा स्थापना भएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा संचालित यस अस्पतालमा हालसम्म आईपुग्दा चारवटा रोटरी र एउटा रोट्¥याक्ट क्लबसंग सहकार्य गर्ने अवसर प्राप्त भएको छ ।
मुटु अस्पतालमा रोटरी क्लब अफ बुटवल डाउनटाउन, डायलाईसिस युनिटमा रोटरी क्लब अफ बुटवल साउथ र क्याथ ल्याबमा रोटरी क्लब अफ बुटवलसंग सहकार्य रहेको छ । यसको साथै सिटी स्क्यानको लागि रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलसंग सहकार्यको लागि सम्झौता समेत भईसकेको जानकारी समेत गराइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.