संसद बैठक २१ गतेसम्मका लागि,प्रधानमन्त्री भन्नुहुन्छ– संशोधनभन्दा पहिला वैशाख ३१ को निर्वाचन गर्नुपर्ने परिस्थिति निर्माण भयो

काठमाडौ । वैशाख १७ । संविधान संशोधनमा सहमति नजुट्ने र तत्काल बहुमत समेत नपुग्ने अवस्था देखिएपछि सरकारले संसद बैठक वैशाख २१ गतेसम्मका लागि धकेलेको छ ।
आइतवार अघि बढाउने भनिएको संविधान संशोधन प्रस्तावमाथि छलफल नै नगरि सरकारको आग्रहमा सभामुखले संसद बैठक २१ बैशाखमा बस्ने गरि सार्नुभएको हो ।
नेपाली काँग्रेसका पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरेर पहिलो बैठक सकिएपछि आजै दोश्रो बैठक बोलाउने तयारी भएपनि सरकारले जति चलखेल गर्दा पनि संशोधनमा बहुमत नपुग्ने नदेखेपछि संसद बैठक २१ गतेसम्मका लागि स्थगित गरिएको हो ।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणको निर्वाचनका लागि पर्सि १७ गते मनोनयन दर्तालाई प्राथमिकता भन्दै संशोधनभन्दा पहिला वैशाख ३१ को निर्वाचन गर्नुपर्ने परिस्थिति निर्माण भएको बताउनुभयो । संविधान संशोधन प्रस्ताव वैशाख २१ को संसदमा अघि बढ्ने र त्यसअघि पर्सि १७ गते पहिलो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयन उत्सवकै रुपमा गरिने भन्दै उहाँले त्यस बिषयमा आन्दोलनरत मधेश केन्द्रित दलहरु पनि सहमत हुने बताउनुभयो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारुढ काग्रेसका नेता रामचन्द्र पौडेलले भने सहमतिमा संशोधन प्रस्ताव अघि बढाउन संसद बैठक २१ गते बोलाउने निर्णय भएको बताउनुभयो ।
तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने जेठ १५ उता निर्वाचन नलैजान भन्दै संशोधन प्रस्ताव थाति राख्न प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै २१ गते बैठक सारेपछि सरकारले थप छलफल गर्ने बुझाइ एमालेको रहेको बताउनुभयो ।
सत्तापक्षको तयारीप्रति आन्दोलनरत दलहरु भने विश्वस्त देखिएनन् । संघीय समाजवादी फोरमका नेता अशोक राइले सवै मध्यरातमा हुने गरेको देखिएकोले विश्वास गर्न नसकिने बताउनुभयो ।
सभामुख ओनसरी घर्तीले भने संक्षिप्त प्रतिकृया दिदै दलहरुकै आग्रहमा बैठक २१ गतेसम्मका लागि स्थगित गरिएको बताउनुभयो । संसदको अर्को बैठक २१ गते दिउसो ३ बजे बोलाइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.