राष्ट्रपति भण्डारीलाई भेटे प्रधानमन्त्री दाहालले

काठमाडौँ– वैशाख १८ । रासस – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको भेटवार्तामा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताएका थिए।
“घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर पार्दैन” – प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए ।
प्रधानन्यायाधीशका सम्बन्धमा राष्ट्रपतिको जिज्ञासामा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट गराएको आचार्यले बताए ।
करिब डेढ घन्टा भएको भेटवार्तामा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.