काठमाडौ । वैशाख १९ । केन्द्रीय राजधानी काठमाडौं सहित प्रदेश नम्वर ३,४ र ६ नम्वर प्रदेशमा मंगलवार पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरु वाजागाजा र र्याली सहित उम्मेदवारी दर्ता गर्न मनोनयनस्थलहरुमा पुगेका थिए ।
देशका चारवटै महानगरपालिका १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मंगलवार शान्तिपुर्ण र उत्साहका साथ उम्मेदवारहरुको मनोनयन दर्ता भएको हो ।
महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १०९१ र गाउँपालिकाका १३६५ गरी जम्मा २५९८ वडाध्यक्ष र ती वडाका लागि चार सदस्यका दरले १०,३९२ वडा सदस्य पदका लागि प्रमुख दल काग्रेस एमाले र माओवादी केन्द्र सहितका दलहरुले मनोनयन दर्ता गरेका छन् ।
राप्रपा, संघीय समाजवादी फोरम, नेकपा माले, नयाँ शक्ति लगायतका दल र स्वतन्त्र रुपमा पनि उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
२५९८ वडा सदस्यमा महिला, २५९८ दलित महिला गरी ५१९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी भएको छ ।
काठामाडौ महानगरमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्काको उम्मेदवारी दर्ता भएको छ ।
नेकपा एमाले र राप्रपाले काठमाडौं महानगरमा चुनावी तालमेल गरेका छन् । तालमेल भएपछि काठमाडौको मेयरमा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठको उम्मेदवारी परेको छ ।
यस्तै माओवादी केन्द्रबाट मेयरमा सर्वोत्तमदास डंगोल र उपमेयरमा सुशीला पौडेलले उम्मे।दवारी दर्ता गराउनुभएको छ । विवेकशील नेपाली पार्टीबाट रञ्जु दर्शना र साझा पार्टीबाट मेयरमा किशोर थापाले पनि काठमाडौमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
काठमाडौंको किर्तिपुर नगरपालिकामा कांग्रेसले राजकुमार नकर्मी,एमालेले रमेश महर्जन र माओवादी केन्द्रले हिराबहादुर महर्जनलाई मेयरको उम्मेदवार बनाएको छ । क़
यस्तै राप्रपा, संघीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त गठबन्धन,र अन्य दल तथा स्वतन्त्र रुपमा पनि किर्तिपुरमा विभिन्न पदमा उम्मेदवारी परेको छ ।
ललितपुर महानगरपालिकामा कांग्रेसवाट मेयरमा चिरिकाजी महर्जन र उपमेयरमा गिता सत्यालको उम्मेद्वारी परेको छ ।
एमालेले ललिपुरमा पनि राप्रपासँग तालमेल गरेको छ । मेयरमा एमालेका हरिकृष्ण व्यन्जनकार र उपमेयरमा राप्रपाका बाबुकाजी महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
माओवादीले भरतपुरमा प्रधानमन्त्री पुत्री रेणु दाहाललाई र उपमेयरमा सुरेन्द्र गुरुङलाई उम्मेदवार बनाएको छ । माओवादीले चितवनकै रत्ननगर नगरपालिकामा मेयरमा राजु अम्गाई र उपमेयरमा संगीता भट्टराई, खैरहनी नगरपालिकामा मेयर एकराज डल्लाकोटी र उपमेयरमा रेवती उप्रेतीलाई उम्मेदवार बनाएको छ ।
यस्तै राप्ती नगरपालिकामा रामचन्द्र पाठक मेयर र कल्पना लामा उपमेयर, कालिका नगरपालिकाको मेयरमा रामध्वज डल्लाकोटी र उपमेयरमा सविता लामा तथा माढी नगरपालिकामा ठाकुरप्रसाद ढकाल र उपमेयरमा सरिता महतोलाई माओवादीले उम्मेदवार बनाएको छ । हेटौंडा उपमहानगरमा एमालेका तर्फबाट मेयरमा हरिबहादुर महत र उपमेयरमा मिना लामाको उम्मेदवारी परेको छ ।
यस्तै धादिङको निलकण्ठ नगरपालिकामा नेकपा मालेबाट खगेश्वर शर्मा कोइरालाले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी काभ्रेमा पनि बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका प्रमुख दलहरुले सवै तहमा उम्मेद्वारी दर्ता गरेका छन ।