काठमाडौं । वैशाख २० । पहिलो चरणमा स्थानीय तह निर्वाचन हुने ३, ४ र ६ नम्वर प्रदेशका शैक्षिक संस्थाहरुलाई वैशाख २५ देखि ३१ गतेसम्म बिदा दिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आयोगको बुधवार बसेको बैठकले निर्वाचनलाई मध्यनजर गरी ६ दिन विद्यालय तथा कलेजहरुमा र वैशाख ३१ गते निर्वाचन हुने क्षेत्रका सबै सरकारी निकायलाई बिदा दिन आग्रह गरेको हो ।
निर्वाचन आयोगले मतदान स्थल रहेका विद्यालय,स्वास्थ्य सस्था र अन्य सबै भवनहरु २५ वैशाखदेखि उपलब्ध गराइदिन समेत सरकारसँग अनुरोध गरेको छ ।
यसैबीच, निर्वाचन आयोगले पहिलो चरणको चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुमाथिको दाबी विरोधको कार्यक्रम सकिएको छ ।
आयोगले सूची प्रकाशन गरेर विहिवार अपराह्न १ बजे देखि ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिएको छ ।
सबै प्रक्रिया पूरा भएपछि शुक्रवार २२ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।