कांग्रेसले ५ हजार ५ सय ६४ दिन, एमालेले १४ सय १२ दिन र माओवादीले १ हजार ९० दिन शासन गरे प्रजातन्त्र प्राप्तिपछि देशमा

काठमाडौ । वैशाख २१ । नेकपा एमालेले कांग्रेस र माओवादीको योजनामा एमालेविरुद्ध मोर्चाबन्दी र चौतर्फी आक्रमण भएकोले त्यसलाई रोक्न मुद्धाका आधारमा राप्रपासँग तालमेल गरिएको बताएको छ ।
एमाले प्रचार विभागले बिहिवार पार्टी कार्यालय धुम्वाराहीमा आयोजना गरेको पत्रकार अन्तर्कृयामा एमाले नेताहरुले स्थानीय आवश्यकता र जितको सुनिश्चितताका आधारमा पनि तालमेल भएको बताए ।
काठमाडौं र ललितपुर महानगरपालिकामा राप्रपासँग चुनावी तालमेल गरेको बारे महासचिव ईश्वर पोखरेलले भन्नुभयो– स्थानीय मुद्दा मिल्ने र आवश्यकता ठानिने क्षेत्रमा कार्यगत तालमेल गर्नु स्वाभाविक हो ।
उहाँले प्रजातन्त्रपछि देशमा कांग्रेसले ५ हजार दिन भन्दा बढी शासन गरेको र एमालेले १४ सय १२ दिन र माओवादीले झण्डै ११ सय दिन शासन गरेको प्रंसग उल्लेख गर्दै एमालेले राष्ट्रिय स्वाभिमान र जनहितका पक्षमा कोहिकसैसँग सम्झौता नगर्ने पनि स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले न्यायालयलाई कमजोर बनाउन सत्तारुढ काग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिशमाथि महाअभियोग लगाएको भन्दै फिर्ता नलिए एमाले चुप नलाग्ने पनि चेतावनी दिनुभयो ।
एमाले सचिव तथा प्रचार-विभाग प्रमुख योगेश भट्टराईले काठमाडौ र ललितपुरमा राप्रपासँग तालमेल गर्दा सत्तापक्षले भ्रामक प्रोपोगाण्डा गरेको भन्दै सिन्धुपाल्चोक र अन्य कतिपय जिल्लामा राप्रपा-माओवादी र राप्रपा-कांग्रेस तालमेल भएको बताउनुभयो । राष्ट्रिय हित र स्थानीय आवश्यकता अनुसार कार्यगत तालमेल भएको हो उहाँले भन्नुभयो- ‘एमाले विरुद्ध मोर्चा बन्दी भएको छ तर हामी कुनै दलबिरुद्ध मोर्चाबन्दी गर्दैनौ । चुनावमा भने देशभक्त शक्तिसँग तालमेल गरेर जान्छौं । यस्तो कुरा दुनियाँमा जहाँ पनि हुन्छ ।’
सचिव भट्टराईले काठमाडौमा एमालेले महिला नउठाएको भनेर गलत ब्याख्या गरिएको भन्दै ‘हामीले कैयौ जिल्लामा कम्तिमा एक महिलालाई प्रमुखकै उम्मेदवार बनाएका छौं, काठमाडौ नभएर के भो त अन्त छन नि । तर महिलाका बारेमा चिन्ता गर्नेले एकजना असल महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई महाअभियोग लगाएकोमा चिन्ता गर्दा हुन्छ । एमाले सचिव भट्टराईले भन्नुभयो ।
प्रचार विभाग उपप्रमुख सुर्य थापाले जनताका माझमा एमाले लोकप्रिय रहेको र परिवर्तन तथा स्थानीय अधिकारका मुद्धा एमालेले नै अघि बढाएको दावी गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.