महाअभियोग फिर्ता लिन माग गर्दै एमाले सहितका ११ दल एक ठाँउमा,संसद पनि स्थगित

काठमाडौ, २१ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अनुचित र कानून विपरित भएको भन्दै एमाले सहितका विपक्षी दलले प्रस्ताव फिर्ता लिन माग गरेका हुन ।
महाअभियोग फिर्ता नलिए संसद नै चल्न नदिने विपक्षी दलको चेतावनीपछि संसद बैठक समेत सूचना टाँसेर स्थगित गरिएको हो । सत्तापक्षले महाअभियोग अघि बढाउन खोज्ने हामीले अघि बढ्न नदिने भनेपछि कुरा मिलेन– नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले भन्नुभयो ।
सरकारले आजकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोक्ने तयारी गरेको थियो । विपक्षी दलले भने महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै आएका छन । महाअभियोग प्रस्ताव अघि बढाउन नदिन संसद भवन नयाँबानेश्वरमै बसेको एमाले सहितका दलहरुको बैठकले पनि महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको छ । बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको पनि सहभागिता थियो । यादवले पार्टीबाटै प्रस्तावको विरुद्ध निर्णय गर्ने बताउनुभएको र गच्छदारले सल्लाह गर्ने बताउनुभएको एमाले उपाध्यक्ष भीम रावलले मतपत्र नेपाललाई जानकारी दिनुभयो ।
यसअघि बिहिवार नै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको औपचारिक जानकारी गराउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.