काठमाडौ । वैशाख २४ । प्रधानन्यायाधिश प्रकरणले राज्यका तीन अंग कार्यपालिका,ब्यवस्थापिका र न्यायपालिका बीच टकराव भैरहेका बेला संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख ओनसरी घर्तीले सर्वोच्चको फैसलाले संसदको विशेषाधिकारको हनन भएको भन्दै संवाद र छलफलबाट समस्या समाधान गर्न बैठक पर सारिएको बताउनुभयो ।
संसद बैठक सुचना टाँसेर स्थगित गरेपछि पत्रकार सम्मेलन गरेर सभामुख घर्तीले नेपालको संविधानले शक्ति पृथकीकरण अन्तर्गत कार्यपालिका न्यायपालिका र व्यवस्थापिका काम कारवाहीका सन्दर्भमा प्रस्ट व्यवस्था गरेको र संविधानले गरेको व्यवस्था अनुसार राज्यका तीनवटै निकाय आफ्नो संवैधानिक दायरामा रहनुपर्छ भन्ने आफ्नो प्रष्ट मान्यता रहँदै आएको बताउँदै राज्यका अंगहरुबीच टकराव हुँदा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतान्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर गर्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो –’यस्तो अवस्थालाई ध्यान दिँदै राज्यका निकायका पदाधिकारीहरुले आ-आफ्नो भूमिकालाई आत्मसमीक्षा गर्दै धैर्य एवम् संयमतापूर्वक समाधान निकाल्न आवश्यक छ।’ राज्यप्रतिको यो जिम्मेवारीलाई आत्मसात गर्दै आपसी वार्ता, संवाद र छलफलको माध्यमबाट समस्या समाधान गर्न सजिलो होस् भन्दै संसद् बैठक जेठ चार गतेसम्मका लागि स्थगित गरिएको उहाँको भनाइ थियो ।