काठमाडौ । वैशाख २७, आज २५६१ औं बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६१ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।
बुद्ध जयन्तीका अवसरमा लुम्विनिमा आज विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई सम्वोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले समग्र लुम्बिनीको विकासका लागि बुद्ध सर्किट अपरिहार्य भएको बताउनुभएको छ ।
२५६१ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०४७ को अवसरमा लुम्बिनीमा भएको समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले बुद्ध र बुद्ध जीवनसँग जोडिएका ठाउँहरु रामग्राम, गोटिहवा, तिलौराकोट, देवदह लगायतलाई जोडेर बुद्ध सर्किट निर्माण गरेमा लुम्बिनीको विकासले छलांग मार्ने बताउनुभयो ।
उहाँले बुद्ध एक महान दार्शनिक भएको बताउँदै विश्वका शान्ति कामीहरुले बुद्धको शान्तित्वलाई अनुसरण गर्नु पर्ने बताउनु भयो । उहाँँले भन्नुभयो, विश्वका बौद्ध मार्गी र बौद्ध दर्शनसँग सम्बन्ध राख्नेले मात्रै नभई विश्वका सबै धर्मावलम्बीहरुले बुद्ध दर्शनको अनुसरण गरी शिक्षा आर्जन गर्न जरुरी छ ।
बुद्धको पञ्चशिलको सिद्धान्तलाई व्यवहारिक रुपमा ढाल्न सकेमा जिवन सार्थक हुने बताउनुभयो । उपराष्ट्रपति पुनले बुद्ध दर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपालमा शान्तीगामी चेतनाको निर्माण भएको बताउँदै यो नेपालीहरको लािग गौरवको विषय भएको बताउनुभयो ।
उहाँले लुम्बिनीको विकासको लागि विकास कोष र सरकारलले थप कार्य योजना अगाडी बढाउनु पर्ने बताउनुभयो । उहाँले बुद्धको जन्मस्थालबारे फैलाइएको भ्रम चिर्न जरुरी रहेको समेत बताउनु भयो । लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्न सक्ने वातावरण मिलाउन सकेमा लुमिबनीको विकास हुने उहाँको धारणा छ ।
नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्सकुलले लुम्बिनीको विकासमा थाइल्याण्डको साथ रहने बताउनुभयो । रुपन्देही क्षेत्र ७ का सांसद कमलेश पुरी गोश्वामी, पर्यटन सचिव शंकर अधिकारी, कोषका उपाध्यक्ष भिक्षु निग्रोध, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले अब लुम्बिनी बृहत्तर विकास गर्नु पर्नेमा जोड दिनुभयो ।