नयाँ शक्तिको चुनाव प्रचार अभियान तिव्र

२८ वैशाख, २०७४ नयाँ शक्ति पार्टीले काठमाडौ उपत्यका सहित देशका बिभिन्न क्षेत्रमा चुनाव प्रचार अभियान तिव्र पारेको छ ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी संयन्त्रले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारलाई जारी राखेको छ । संयन्त्रले काठमाडौं महानगरको महाराजगञ्जस्थित कान्ति बाल अस्पताल र शिक्षण अस्पताल क्षेत्र, खाडी बस्ती, बसुन्धारा, चक्रपथ, भाटभटेनी, मिलीजुली टोल, बाँसबारी, पिपलबोट, प्रगति टोल, खहरे बस्ती, गैह्रीगाउँ, विशालनगर, टुडालदेवी, चाबेल लगायतका स्थानहरुमा प्रचार–प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिकाका उम्मेदवार पवित्र बज्राचार्य र उपमेयरका उम्मेदवार सविना अर्याल सहित प्रचार–प्रसार तथा घरदैलोका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
प्रचार अभियानमा संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नयाँ शक्ति पार्टी, नेपालकी नेतृहरु हिसिला यमी, लिली थापा र शोभा बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नयाँ शक्ति संघीय परिषद् सदस्य परिवर्तन भट्टराई तथा रहर बहादुर खड्का, शंकर बहादुर लिम्बू, अमिता महर्जन राई, डिल्लीराम राजभण्डारी, उत्सव खड्गी, मनोहरबेटी श्रेष्ठ, महेश अधिकारी, शिव पाण्डे, लक्ष्मी थापा, रेष्मा श्रेष्ठ लगायतको सक्रियतामा चुनावी प्रचारप्रसार भइरहेको छ ।

यसअघि पनि बालुवाटार, टुँडालदेवी, पञ्चकन्या, चुनदेवी, टुसाल, हाँडीगाउँ हाँडीगाउँ, गहना पोखरी, मालीगाउँ, बालमन्दिर, सानो गौचरण, नक्साल, भगवती बहाल, चारढुंगे, नागपोखरी, ज्ञानेश्वर, डिल्लीबजार, चारखाल, पिपलबोट, मैतिदेवी, रातोपुल, शंखपार्क, चप्पल कारखाना, बाँसबारी, पिपलबोट, चक्रपथ, गणेश बस्ती, चुनदेवी, निल सरस्वती, उत्तर ढोका, लाजिम्पाट, खुर्सानीटारलगायतका क्षेत्रहरुमा घरदैलो सँगै प्रचार–प्रसारको कार्यक्रम सम्पन्न भएको थियो ।
पोखरामा चुनावी भेला
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको संयुक्त चुनावी गठबन्धनले पोखरा लेखनाथ वडा नं.–१९ लामाचौरमा चुनावी भेला सम्पन्न गरेका छ । स्थानीय तह निर्वाचन मिति नजिकिंदै गर्दा चुनावी अभियान अन्तर्गत भेला तथा घरदैलोलाई गठबन्धनले तीव्र बनाएको हो ।
भेलामा बोल्दै पोखरा–लेखनाथ महानगरका मेयर पदका उमेद्वार हुमबहादुर तमुले महानगरलाई एक स्मार्ट सिटीका रुपमा विकास गर्ने र पूर्वाधार विकास, आर्थिक वृद्धि तथा रोजगारी, सुशासन र सद्भावनायुक्त समाजको विकासमा ठोस कदम चाल्ने प्रतिवद्धता जनाउनुभएको छ ।
त्यस्तै उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियारले पुराना दल वा शक्तिहरुले देशको विकास गर्न र सुशासन कायम गर्न असफल भएका कारण आफूहरु वैकल्पिक राजनीतिक धारसहित अघि बढेको बताउनुभयो । उहाँले आम मतदाताहरुलाई मसाल चिह्नमा मतदान गरि देश विकासमा हातेमालो गर्नसमेत अपिल गर्नुभएको छ ।
भेलामा संघीय समाजवादीका वडा १९ का संयोजक जगन प्रसाद गुरुङ, नयाँ शक्ति कास्की जिल्लाका संयोजक हेमबहादुर थापा, निर्वाचन परिचालन समितिका गिरीप्रसाद गुरुङ, सौगात पोखरेल, लोकदोहोरी गायिका तारा जिसी, वडा १९ का अध्यक्ष पदका उमेद्वार सु. मनबहादुर पुनलगाएतले समुन्नत समाजको परिकल्पनालाई साकार पार्न मसाल चिह्नमा मतदान गर्न अपिल गर्नुभएको थियो ।
त्यसैगरी चुनावी संयुक्त संयन्त्रले पोखरा–लेखनाथ १३ मा भेला सम्पन्न गरेको छ । पासगाँउ तमु समाजमा सम्पन्न भेलामा वडा अध्यक्ष पदका उमेद्वार हरिबहादुर गुरुङ, निर्वाचन परिचालन समितिका दिपक तामाङ, सु. नौ बहादुर गुरुङ, मोहम्मद अलिमिया, तारा परियारलगाएतले विकासका लागि स्थानीय चुनावमा दक्ष व्यक्ति चुनिनु आवश्यक रहेकामा जोड दिनुभएको छ । भेला पश्चात वडामा घरदैलो कार्यक्रम भएको थियो ।
नवलपरासीमा बढ्दो आकर्षण
गैंडाकोट – स्थानीय तह निर्वाचनको माहोल तात्तिँदै जाँदा नवलपरासीको गैंडाकोट नगरपालिकामा चुनाव प्रचारप्रसारको क्रमले ठूलो तरङ्ग पैदा गरेको छ । यस नगरपालिकामा यस अघि प्रभाव पार्न सफल भएका नेपाली कांग्रेस र एमालेजस्ता ठूला दलहरुप्रति युवा पंक्तिको आकर्षण घट्दै गएको छ ।
अहिले सो नगरपालिकाका युवाहरु नयाँ शक्तिप्रति आकर्षित भएका छन् । नयाँ शक्तिप्रतिको आकर्षणकै कारण त्यहाँको चुनावी माहोलमा नै तरङ्ग आएको नयाँ शक्ति पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएका गोपेन्द्रकेशरी न्यौपानेले बताउनुभयो । ‘यतिबेला गंैडाकोटमा नयाँ शक्तिप्रति युवाहरुको आकर्षण ह्वात्तै बढेको छ’ उहाँले भन्नुभयो ।
‘अरुले गर्छन् कुरा, हामी गर्छौ पूरा’ भन्ने मूल नारासहित निर्वाचनमा होमिएको नयाँ शक्तिप्रति नवलपरासी जिल्ला र जिल्लाकै महत्वपूर्ण नगरपालिकाको रुपमा रहेको गैंडाकोटमा नयाँ शक्ति पार्टीप्रति यस्तो आकर्षण बढेको पार्टीका स्थानीय नेताहरुको भनाइ छ ।
संघीय समाजवादी फोरससँग चुनावी सहकार्य गरेर मसाल चिन्हसहित चुनावमा होमिएको नयाँ शक्ति पार्टी स्थापनाको एक वर्ष पूरा नहुँदै मुलुककै शक्तिशाली राजनीतिक पार्टीको रुपमा स्थापित भएको छ ।
गंैडाकोटमा युवा पंक्ति मात्रै होइन, वृद्धवृद्धा तथा हरेक उमेर समूहका दाजुभाइ, दिदीबहिनीहरुसमेत नयाँ शक्तिप्रति आकर्षित भएपछि यो नगरपालिकामा जित निश्चितजस्तै भएको न्यौपानेले दाबी गर्नुभयो ।
हाल चुनाव प्रचारप्रसारका क्रममा नगरका टोलटोल र घरघरमा अभियानका साथ पुगिसकेको उहाँले बताउनुभएको छ ।
यसैबिच नवलपरासीको गंैडाकोट मात्रै होइन, जिल्लाको कावासोती नगरपालिकामा पनि मतदाता जनताको आकर्षण नयाँ शक्तिप्रति बढ्दै गएको छ ।
नवलपरासीकै देवचुली नगरपालिकामा समेत नयाँ शक्तिको चुनावी अभियानमा जनलहर बढ्दै गएको छ । यसपालीको चुनावमा नवलपरासीमा नयाँ शक्ति बलियो शक्तिका रुपमा स्थापित भएको सम्बन्धित नगरपालिकाका मेयर लगायत अन्य पदमा उम्मेदवारी दर्ता गराउनु भएका नयाँ शक्ति पार्टीका उम्मेद्वारहरुले दाबी गर्नुभएको छ ।

भेरी नगरपालिकालाई मदिरा मुक्त बनाउने घोषणा
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त रुपमा जाजरकोट जिल्लाको भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा महिला उम्मेदवार उठाएको छ । मेयरमा सीता दवाडी र उपमेयरमा पद्मावती पुनले उम्मेदवारी दिनुभएको हो ।
मेयर पदकी प्रत्यासी सीता दवाडीले आफू निर्वाचित भएको खण्डमा सर्वप्रथम नगरपालिकालाई मदिरा मुक्त बनाउने घोषणा गर्नुभएको छ । ‘मदिराले यहाँका धेरै जनताको घरबार बिगारेको छ, अनि मदिरापानकै कारण कतिले आत्महत्या गर्ने गरेका छन्’ उहाँले भन्नुभयो – ‘मदिरापानले समाजमा पु¥याएको असरका बारेमा म परिचित छु । तसर्थ यस्तो समाजलाई सुधार्न नगरपालिकालाई मदिरा मुक्त क्षेत्र बनाउनु मेरो प्रमुख काम हुनेछ ।’
नगरपालिका घोषणा भइसक्दा पनि अझै बाटो कालोपत्रे नभएको उक्त बाटोलाई फराकिलो बनाएर कालोपत्रे गर्ने योजना उहाँले अगाडि सार्नुभएको छ । रोजगारको अभावमा अधिकांश युवाहरु मदिरापान गरेर बस्ने बताउँदै उहाँले युवाहरुलाई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न युवालक्षित कार्यक्रमका साथै नगरबासीका करेसाबारीमा तरकारी तथा फलफूल खेती गर्न प्रात्साहित गर्ने योजना समेत सुनाउनुभयो ।
अत्यन्तै विकट मानिने जाजरकोट जिल्ला स्वास्थ्य सेवाको पहुँचका हिसाबले पनि पिछडिएको जिल्ला हो । उहाँले नगरक्षेत्रमा खानेपानी, विद्युत् स्वास्थ्य चौकी लगायतका अति आवश्य पूर्वाधारहरुको विकास र विस्तार गर्ने योजना रहेको पनि बताउनुभएको छ ।
त्यसैगरी त्यहाँ रहेका रामजानकी मन्दिर, शिवालय मन्दिर जस्ता धार्मिक क्षेत्रको संरक्षण गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक पहल गर्ने दवाडीले बताउनुभएको छ ।
त्यस्तै उपमेयर पदकी प्रत्यासी पद्मावती पुनले भेरी नगरपालिकाभित्र रहेका महिलाको आवाज प्रशासनिक क्षेत्र तथा राज्यको माथिल्लो तहमा पु¥याउन कै लागि आफूले उपमेयर पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
‘यस नगरपालिकाभित्र रहेका महिला, जनजाति, दलितहरुमा जनचेतनाका साथै राज्यका नीति निमार्णका तहमा पहुँच पुग्न सकेको छैन्’ उहाँले भन्नुभयो – ‘त्यसैले उनीहरुमा जनचेतनाको विकास गर्न, स्थानीय प्रशासनिक क्षेत्रमा उनीहरुको पु¥याउन उपमेयर पदमा उठेकी हुँ । महिला सशक्तिकरणसम्बन्धी विभिन्न कार्यक्रम गर्दै महिलाहरुलाई सीपमूलक तालिमबाट आत्मनिर्भर बनाउने योजना बनाएको छु ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.