काठमाडौ । जेठ ५ । पहिलो चरणको मतगणना चलिरहदा दोश्रो चरणको निर्वाचनको प्रकृया पनि शुरु भएको छ । शुक्रवारदेखि दोश्रो चरणको चुनाव हुने क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गर्ने र काम थाल्न निर्वाचन आयोगले शुरु गरेको छ ।
उता मधेश केन्द्रित दलहरु मिलेर नयाँ पार्टी बनेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन, सीमांकन हेरफेर र स्थानीय तहको संख्या थप नभए जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा भाग नलिने बताएको छ ।
राजपाका अध्यक्ष महन्थ ठाकुरले चुनाव तयारीका लागि जेठ ३१ गतेको समय अपुग हुने भएकाले मिति समेत फेरबदल हुनुपर्ने र चुनावमा सहभागिताका लागि आफ्नो माग सम्वोधन हुनुपर्ने बताउनुभयो ।
सरकारले निर्वाचनको वातावरण नबनाए चुनावलाई प्रभावित गर्नेखालका आन्दोलनका कार्यक्रम सुरु गर्ने समेत उहाको भनाइ छ ।