प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा पदबाट राजीनामा

काठमाडौ । जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिनुभएको छ । सिंहदरवारबाट देशवासीका नाममा विशेष सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेससँग भएको सहमति बमोजिम प्रधानमन्त्रीपदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

राजनितिमा इमानको कमी हुने गरेको र हरेकले हरेकलाइ उपयोग मात्रै गर्ने प्रवृति कायमै रहेको अवस्थामा आफु इमान्दार भएर नैतिकताको खडेरी तोड्न राजीनामा दिएको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।
सफल प्रधानमन्त्री भएर बाहिरिन पाउँदा खुसी लागेको भनेपनि प्रधानमन्त्री दाहाल संवोधनका क्रममा भने भावुक देखिनुभएको थियो ।

सम्वोधनमा प्रधानमन्त्री दाहालले गठबन्धन सरकारका आफ्नै सिमा हुने भए पनि आफ्नो सरकारमा अप्ठ्यारो नभएको प्रधानमन्त्रीले बताउनुभयो ।
राजनीतिक लोकतन्त्र निर्माण भएपनि सामाजिक लोकतन्त्र अझै स्थापित नभएको भन्दै प्रधानमन्त्रीले सपनाको भन्दा अव उपलब्धिको परिणाम चाहिएको बताउनुभयो ।

आधा घण्टा भन्दा लामो सम्वोधनका क्रममा प्रधानमन्त्रि दाहालले उल्लासका साथ पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको बताउँदै दोश्रो चरणको निर्वाचन पनि उत्साहका साथ हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन रोक्न सके जनताका उपलब्धि असफल बनाउन सकिन्छ कि भन्ने सम्मका खेल भएको भन्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र संविधानबाट जनताका घरमा पुगेको बताउनुभयो ।

निर्वाचनबाट संघीय गणतन्त्र र राष्ट्रले जितेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निर्वाचन सफल बनाउन सक्रिय सवैलाइ धन्यवाद दिनुभयो ।
महिला शसक्तिकरण र सिमान्तकृत समुदायको अधिकारका लागि पनि स्थानीय तहको निर्वाचन महत्वपुर्ण भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले आर्थिक वृद्धिदर तथा पुनर्निमार्णमा भएको गति एव लोडसेडिङ अन्त्यलाई आफ्नो सफलता भएको दावी गर्नुभयो ।

देशको विकास अव भाषणबाट हैन जनताले तथ्याक र कामबाट हेर्ने बताउँदै उहाँले आगामी एक बर्षमा २ सय मेघावाट र ३ बर्षमा १२ सय मेघावाट विद्युत उत्पादन हुने जिकिर पनि गर्नुभयो ।
शान्तिप्रकृया र संक्रमणकाल अन्त्यका बिषयमा पनि सरकारले थुप्रै काम गरेको भन्दै प्रधानमन्त्री दाहालले विगतका आन्दोलनका पिडितलाई राहत र क्षतिपुर्ति दिइएको बताउनुभयो ।
कृषि क्षेत्रको ब्यवसायीकरण र आधुनिकीकरणमा पनि आफ्नो नेतृत्वको सरकारले उल्लेख्य काम गरेको उहाँले बताउनुभयो ।

फास्टट्याक्ट, ओवीआर लगायतका बिषयमा विगतमा आफुमाथि प्रश्न उठेको तर आज सम्वोधनबाटै जवाफ दिन लागेको भन्दै प्रधानमन्त्रि दाहालले पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्यङ्ग्यात्मक जवाफ दिदै सरकारले बनाउने काम शुरु भैसकेको बताउनुभयो ।

नागढुगां सुरुङमार्ग तथा काठमाडौको सेटेलाइट सिटि बनाउने काम पनि शुरु भैसकेको भन्दै प्रधानमन्त्रीले लगानी सम्मेलन पनि सरकारको सफलता भएको बताउनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले गरेका काम उल्लेख्य भएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
आफ्नो चीन र भारतको भ्रमणले विदेशी सम्वन्ध राम्रो भएको भन्दै प्रधानमन्त्रीले भारत र चीन लगायतका छिमेकी देशसँगको सम्बन्ध थप सुधार गरिएको र विकासमा साझेदारी पनि भएको बताउनुभयो ।

तराइ मधेश हिमाल र पहाडलाइ जोडेर परिवर्तनमा संगै लैजाने काम आफुले गरेको उहाँको भनाइ थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.