काठमाडौ । जेठ १६ । राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय बाँकी छदै काँग्रेसले आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन हतारो देखाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति जुटाउन दिएको सात दिनको समय बिहिवार सकिँदै छ तर काँग्रेसले मंगलावार नै पत्र लेखेर आफ्नो नेतृत्वको सरकारलाइ सघाउन सर्वदलीय बैठक बोलायो ।
बुधवार विहान संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफल गरेको हो । राष्ट्रिय सहमतिको सरकारका लागि नभै काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पत्र पठाएको भन्दै विपक्षी दल एमाले भने बैठकमा सहभागी भएन ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी एमालेलाई पनि राखेर छलफल गर्न सुझाव दिनुभएको थियो । माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि आफुले सरकार बनाउन खोजेको भनेर ससर्त पत्र पठाएकोले एमाले नभएकोले उसँग पनि छलफल गर्नुपर्ने सुझाव दिनुभएको थियो । मतपत्र नेपालसँग श्रेष्ठले भन्नुभयो– पत्र नै ससर्त भयो भनेर मैले एमालेसँग पनि छलफल गर्नुपर्ने सुझाव दिएको छु ।
त्यसको जवाफमा काँग्रेस सभापति शेरबहादुर देउवाले पुर्व सहमति अनुसार आफ्नै नेतृत्वमा सरकार बन्ने भन्दै अरु कोही भए बैठकमै कुरा राखे भयो नि भनेर जवाफ फर्काउनुभएको वैठकमा सहभागी एक नेताले बताए । अन्य दलका नेताहरुले पनि सहमतिका लागि एमालेसँग छलफल गर्न काँग्रेस नेतृत्वलाइ सुझाव दिएका थिए ।
राजपा नेपालले भने आफ्ना माग पुरा नभए समर्थन नगर्ने बताएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले भने पुर्व सहमति अनुसार काँग्रेसकै नेतृत्वमा सरकार गठन हुने भन्दै प्रधानमन्त्रीले पनि त्यही प्रस्ताव राखेको बताउनुभयो । उहाँले लोकतन्त्रमा प्रतिपक्ष चाहिने पनि बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत विहिवार सात भित्र सहमतिय सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नु भएको थियो ।