केशव भण्डारी
बुटवल । जेठ १६ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन फेरी असार १४ गतेका लागि सार्ने तयारी भैरहेको छ । राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउन भन्दै जेठ ३१ गतेबाट असार ९ गतेका लागि सारेको लगत्तै फेरि सार्न लागिएको हो ।
मुस्लिम समुदायको रमजानका कारण ९ गते हुन नसक्ने भन्दै चुनाव सार्ने बिषयमा दलहरु छलफलमा जुटेको संघीय समाजवादी फोरमका नेता शिवजी यादवले जानकारी दिनुभयो ।
मंगलवार ससद भवनमा भएको दलहरुको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष तथा स्थानीय विकास मन्त्रि विजयकुमार गच्छदारले पनि असार ९ मा स्थानीय तहको चुनाव हुन नसक्ने भन्दै सार्ने बिषयमा छलफल गर्नुपर्ने बताउनुभएको थियो ।
सरकारका अधिकारीहरुले रमजानको मुख्य दिन असार ९ गते भन्ने आफुहरुलाइ ख्याल नभएको बताएका छन ।
यता नेकपा एमालेले रमजानका बेला पारेर असार ९ गते चुनाव गर्न उपयुक्त नहुने बताएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदउल-फित्र अन्तर्गत अन्तिम शुक्रबार जुमा अल बिदा’को
दिन पारेर आउादो २०७४ साल असार ९ गते स्थानीय तहको दोश्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ – एमाले महासचिव इश्वर पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ – पहिलो चरणको निर्वाचन अघिदेखि नै हाम्रो पार्टीले मुस्लिम समुदायहरुको महान पर्व इदको समय पारेर निर्वाचनको मिति तोक्न नहुनेतर्फ सरकारको पटक – पटक ध्यानाकर्षण गराएको सबैमा विदितै छ । संविधानतः धर्म निरपेक्ष राष्ट्रको मूल मर्ममा प्रहार गर्दै एक महिना लामो अवधिसम्म दिनभर निआहार बसी मनाइने पर्वकै समय पारेर जेठ ३१ गते निर्वाचनको मिति तय गरिएको थियो । अहिले, त्यस मितिलाई अझ पछाडि सार्ने निर्णय गर्दा समेत मुस्लिम धर्मावलम्बीहरुले मतदान गर्नै नसक्ने जुमा अल बिदा’को दिन रोज्नुझनै खेदजनक विषय हो ।
हाम्रो पार्टी सरकारको यस प्रकारको गैरजिम्मेवार र मुस्लिम समुदायविरोधी तथा सबै मुस्लिम समुदायका मतदातालाई मतदान गर्नबाटै बञ्चित गर्ने सरकारको यस षड्यन्त्रमूलक कदमप्रति घोर भत्र्सना गर्दछ । र, सत्तारुढ दलहरुलाई यस्ता विषयहरुमा विशेष संवेदनशीलता प्रदर्शन गर्न समेत आग्रह गर्दछ ।