१७ जेठ, २०७४ सर्लाही – नयाँ शक्ति सर्लाहीले चुनाव प्रचार अभियान तीव्र बनाएको छ । पार्टीले जिल्लाका १० नगरपालिका तथा ७ गाउँपालिकाहरुमा चुनावी अभियान संचालन गरेको हो । नयाँ शक्ति सर्लाहीले चुनावी अभियान अन्तर्गत हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा चुनावी भेला तथा संगठन निर्माणको कामलाई तीव्रता दिएको छ ।
नयाँ शक्तिले मंगलबार हरिवन नगरपालिकाको ताइवान बस्ती, अत्रौली, नयाँरोड, शासापुर, तीनघरे, पकडगाछी, घुर्कौली लगायतका स्थानहरुमा वडा वडा कमिटी निर्माण गर्नुका साथै स्थानीय वडाबासीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
छलफलकै क्रममा मंगलबार पकडगाछी र घुर्कौली गाउँका स्थानीयसँग अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा नयाँ शक्ति पार्टीको तर्फबाट हरिवन नगरपालिकाका लागि प्रस्तावित नगर प्रमुखका उम्मेदवार जंग बहादुर महतोले हरिवन नगरपालिकाको विकास र समृद्धिको योजना सुनाउनु भएको थियो ।
छलफलका क्रममा नयाँ शक्ति पार्टी सर्लाही जिल्ला उत्प्रेरक माया बलले नयाँ शक्ति सबैको आकर्षण बनेकोले अब नयाँ शक्तिकै भिजन अनुसार देशको प्रगति र समृद्धि हासिल हुने बताउनुभयो । उहाँले नयाँ शक्तिले सबै समुदायबीचको एकतालाई मजबुद बनाउने र अल्पसंख्यक एवं सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने समेत बताउनुभयो ।
त्यस्तै नयाँ शक्ति २ नम्बर प्रदेशका युवा संयोजक मेघराज फूँयालले नयाँ शक्ति अबको निर्विकल्प राजनीतिक शक्ति भएको बताउनुभयो । हरिवन नगरपालिकाका नगर संयोजक मनोज साह नयाँ शक्ति निर्विकल्प वैकल्पिक शक्ति भएकोले चुनावमा यसका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभयो ।
नयाँ शक्तिले जिल्लाका वागमती नगरपालिका नगर प्रमुखमा टेक बहादुर बल ९बाबु० र लालबन्दी नगरपालिक प्रमुखमा मुकुन्दराज काफ्ले, बरथवा नगरपालिका प्रमुखमा सत्यनारायण यादव, हरिपुरवा नगरपालिका प्रमुखमा रामनरेश रामलाई अगाडि सारेको जिल्ला उत्प्रेरक माया बलले बताउनुभयो ।
त्यस्तै ब्रह्मपुरी गाउँपालिका प्रमुखमा शतिस कुमार साह, कौरेना गाउँपालिका प्रमुखमा पंकज चौधरीको नाम प्रस्तावित भएको छ । सबै नगरपालिका तथा गाउँपालिकाहरुको उम्मेदवारको अन्तिम टुंगो भने दुई दलको संयुक्त कार्यदलले लगाउने उत्प्रेरक बलले बताउनुभयो ।
सर्लाही जिल्लामा बागमती, हरिवन, लालबन्दी, ईश्वरापुर, हरिपुरुवा, मलंगवा, हरिपुर, वरहथवा, बरमपुरी एवं गोरइता गरी १० नगरपालिका तथा चन्द्रनगर, कविलाछी, चक्रघट्टा, धनकौली, रामनगर, विष्णुपुर एवं बलरा गरी ७ गाउँपालिका गरी १७ स्थानीय तह इकाई रहेका छन् ।
रौतहटमा चुनावी भेला तीव्र
चन्द्रनिगाहपुर – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ शक्ति रौतहटले चुनावी भेला तथा संगठन निर्माणलाई तीव्र बनाएको छ ।
नयाँ शक्तिले मौलापुर गाउँपालिकामा राजन साहको संयोजकत्वमा १०१ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ भने गुजरा गाउँपालिकामा हविबुर रहमानको संयोजकत्वमा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको नयाँ शक्तिले जनाएको छ ।
त्यसैगरी जिल्लाकै विजयपुर गाउँपालिकामा बिएल तामाङको संयोजकत्वमा ३१ सदस्यीय गाउँकमिटी तथा राजपुर गाउँपालिकामा कृष्ण नन्दन रामको संयोजकत्वमा गाउँ कमिटी निर्माण गरेको रौतहट जिल्लाका उत्प्रेरक वाहिद अन्सारीले बताउनुभएको छ ।
चुनावी तयारीकै क्रममा जिल्लाका सबै क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवार चयन गर्दैगर्दा नयाँ शक्ति पार्टीले पनि रौतहट जिल्लाका स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ ।
नयाँ शक्ति पार्टीको तर्फबाट यहाँको गरुडा नगरपालिकामा राम प्रसाद यादव मेयर पदका लागि आकांक्षी देखिएका छन् । त्यसैगरी मौलापुर गाउँपालिकामा रामअसरे कुसवाह, राजपुर गाउँपालिका अध्यक्षमा समीरुल्ल हक, इशनाथ गाउँपालिकामा जय प्रकाश साह, परोहा गाउँपालिकामा नूर सायद आलम, गुजरा गाउँपालिकामा शेख बद्रुदीन तथा माधव नारायण गाउँपालिकामा चन्द्र भुषण यादवको नाम अग्र पंक्तिमा रहेको छ ।
त्यसैगरी दुर्गा भगवती गाउँपालिकामा रोशन झा चर्चामा रहेका छन् भने फतुवा विजयपुर गाउँपालिकामा राधाकृष्ण मैनालीको नाम अगाडि सारिएको नयाँ शक्ति पार्टी रौतहटका संयोजक किरण कुमार साहले बताउनुभएको छ । नयाँ शक्तिले आफ्नोतर्फका उम्मेदवारहरुलाई अगाडि सारेको भए तापनि संघीय समाजवादी फोसमसँगको चुनाव चिन्ह साझेदारीका कारण सबै स्थानीय तह र वडाहरुको उम्मेदवारको अन्तिम नामावली भने संयुक्त रुपमा दुई दलको संयुक्त निर्वाचन संयन्त्रले तय गर्नेसमेत नयाँ शक्तिका जिल्ला संयोजक साहले बताउनुभयो । रौतहट जिल्लामा ३ नगरपालिका र १३ गाउँपालिकासहित १६ स्थानीय तह रहेका छन् ।
बारामा उम्मेदवार छान्दै
सिमरा – दोस्रो चरणको स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै गर्दा नयाँ शक्ति बाराले जिल्लाका स्थानीय तहमा उम्मेदवार छनौट प्रक्रिया आरम्भ गरेको छ । जिल्लाले यहाँका उपमहानगरपालिका, नगरपालिका तथा केही गाउँपालिकाहरुमा उम्मेदवार छनौट सुरु गरेको नयाँ शक्ति पार्टीका बारा जिल्ला संयोजक सुशिल यादवले जानकारी दिनुभयो ।
सोमबार उम्मेदवारको अन्तिम टुंगो लगाउन बस्ने भनिएको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको जिल्लास्तरीय संयुक्त चुनावी संयन्त्रको बैठक आगामी जेठ ३१ गतेका लागि तोकिएको चुनावको मिति सर्ने संभावनाकाबिच केही दिनका लागि स्थगित भएकोसमेत संयोजक यादवले बताउनुभयो ।
उद्यपि नयाँ शक्ति पार्टीले केही स्थानीय तहमा भने उम्मेदवार छनौट सुरु गरिसकेको छ । पार्टीले जिल्लास्थित दुई उपमहानगरपालिका मध्ये कलैया उपमहानगरपालिका उमरावती यादव र मोहम्मद समीरलाई अगाडि सारेको छ भने जीतपुर सिमरा उपमहानगरपालिकामा गीता कंडेल र जीवन कालिकोटेको नाम अग्र पंक्तिमा राखेको छ ।
त्यसैगरी जिल्लाका पाँच नगरपालिकाहरुमध्ये निजगढ नगरपालिकामा जोशिमाया तामाङ तथा महागढिमाई नगरपालिकामा जुनेद आलाम र सन्तोष गुप्ताको नाम सिफारिस गरेको छ । त्यस्तै ११ गाउँपालिकाहरुमध्ये परसौनी गाउँपालिकामा रम्भादेवी तथा भिखारी गुप्ताको नाम अगाडि छ भने फेटा गाउँपालिकामा विरेन्द्र पाण्डेलाई अगाडि सारिएको छ ।
पार्टीले देउताल गाउँपालिकामा प्रतिमादेवी र जयलाल यादवको नाम अग्र पंक्तिमा छ भने श्रवणपुरमा अशोक यादवको नाम चर्चामा छ । त्यस्तै परवानीपुर गाउँपालिकामा ओम बाबु गुप्ता र प्रभु पटेलको नाम चर्चामा रहेको नयाँ शक्तिले जनाएको छ ।
टाँगिया बस्तीको सास्ती
जितपुर सिमरा उपमहानगरपालिका वडा नं। १६ स्थित टाँगिया बस्ती पूर्वपश्चिम राजमार्गबाट केवल ५ किलोमिटर दक्षिणमा रहेको छ । यो बस्ती बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको मुख्य भाग हो । यो गाउँमा न त ल्याण्डलाइन टेलिफोन नै छ, न त दूरसंचारको नेटवर्कले नै काम गर्छ । यहाँ न त बिजुलीको नै व्यवस्था छ, न त घरघरमा खानेपानीको धारा नै ।
१ हजार ४ सय ७६ घरधुरी रहेको यो गाउँ ठूलो परियोजना संचालन क्षेत्र भएका कारण कुनै पनि ठूला विकासका योजना नपरेको यहाँका स्थानीयबासी बताउँछन् । उनीहरुको एउटै माग छ, यदि बस्तीलाई स्थानान्तरण गर्ने हो भने यथाशक्य चाँडो सम्पन्न गरियोस् होइन भने सरकारले आफ्नै देशमा दोस्रो दर्जाका नागरिक नबनाओस् ।
यो गाउँबाट नयाँ शक्ति पार्टीका तर्फबाट प्रेम बहादुर गोले वडा अध्यक्षको दाबेदार हुुनुहुन्छ । पूर्व गाविस अध्यक्ष तथा समाजसेवी गोले भन्नुहुन्छ – ‘हामीलाई यहाँ राज्यले निकै ठूलो विभेद गरेको छ । हामीलाई कि त चाँडो भन्दा चाँडो नापीसहित लालपूर्जा, बाटोघाटो, बिजुली, पानी, विद्यालय, संचार सबै सुविधासहितको बस्ती विकास गरी स्थानान्तरण गर्नुपर्यो । यदि विमानस्थल नबन्ने हो भने तत्काल नापी गरेर हामीलाई व्यक्तिगत जग्गाधनी पूर्जा दिनुपर्यो र राज्यको न्यूनतम् सुविधा हामीलाई पनि दिनुपर्यो ।’
वडा अध्यक्षका उम्मेदवार गोलेले आफू स्थानीयबासीको तिनै आवश्यकता सम्बोधन गर्नका लागि नै चुनावी मैदानमा उत्रिएको बताउनुभयो । टाँगिया बस्तीबासीहरु सरकार, स्थानीय प्रशासन, राजनीतिक दलहरु सबैले आफूहरुलाई उपेक्षा गरेकोले त्यहींको स्थानीय जो यी सबै समस्यासँग साक्षात्कार छ, उसैलाई आफ्नो नेता बनाउने अभियानमा लागेको बताउँछन् ।
नयाँ शक्ति पार्टी बाराले जिल्लाका स्थानीय तहहरु मध्ये केही तहहरुमा उम्मेदवार अगाडि सारेको भए तापनि संघीय समाजवादी फोरम र नयाँ शक्तिबिचको संयुक्त चुनावी संयन्त्रले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने नयाँ शक्ति पार्टीका बारा जिल्ला उत्प्रेरक हरि चौलागाईं लालकिरणले बताउनुभएको छ ।
बारा जिल्लामा २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिकासहितका स्थानीय तह रहेका छन् ।