काठमाडौं । जेठ १७ । नेकपा एमालेले चितवनको भरतपुरमा मतगणना तत्काल शुरु नगरे आफ्ना उम्मेदवार देवी ज्ञवालीलाई विजयी घोषणा गर्ने चेतावनी दिएको छ ।
एमालेले भरतपुरको मतगणनामा भएको षडयन्त्र नरोके देशैभर चुनाव हुन नसक्ने चेतावनी पनि दिएको छ । पराजित मानसिकताले माओवादीले मतपत्र च्यातेर हर्कत गरेको भन्दै एमालेल व्यवस्थापिका संसद्को बैठक समेत अवरुद्ध गरेको छ ।
संसदको बुधवारको बैठक शुरु हुनासाथ एमाले सांसद सुरेन्द्र पाण्डेले मतगणना रोक्नु पराजित मानसिकता भएको भन्दै आपत्ति जनाउनुभयो ।
माओवादीका कार्यकर्ता दुर्गाबहादुर सिवाकोटी र मधु न्यौपानेले कुकृत्य गरेर मतपत्र च्यातेको भन्दै मतपत्र कब्जा नभएको र च्यातिएका मतपत्र जोडेर पनि गन्न सकिने बताउनुभयो ।
नजिता प्रभावित गर्ने हर्कत जनताको अभिमतको अवमुल्यन भएको भन्दै तत्काल गणना गर्न माग गर्दै अन्यथा गरिएमा एमालेले आफै देवी ज्ञवालीलाइ विजयी घोषणा गर्ने चेतावनी दिनुभयो ।
भरतपुरमा जुन हर्कत भएको छ त्यो जारी रहे देशैभर चुनाव हुन नसक्ने र निर्वाचन आयोगले पाँच बर्षसम्म निर्वाचन गरिरहनुपर्ने अवस्था आउने चेतावनी पनि दिनुभयो ।
सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गर्नुभएपनि एमालेले अस्विकार गरेपछि संसद चल्न सकेन । संसदको अर्को बैठक बिहिवार १ बजेका लागि बोलाइएको छ ।