काठमाडौ । जेठ १९ । चालिसौ प्रधानमन्त्री चयनका लागि ब्यवस्थापिका संसद सचिवालयले यहि जेठ २१ गते आइतवार विहान ११ बजेको समय तोकेको छ ।
दलहरुबीच सहमति नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय प्रकृयाबाट प्रधानमन्त्रीको निर्वाचन गर्ने आब्हान गरेपछि सभामुख ओनसरी घर्तीले शुक्रवार २१ गते आइतवारका लागि नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि समय तोक्नुभएको हो ।
पत्रकारहरुसँग कुरा गर्दै सभामुख घर्तीले दलहरुबीच सहमति नभएपछि संसद अवरुद्ध रहेको अवस्थामा सुचना टाँसेर प्रकृया अघि बढाउन मिल्ने ब्यवस्था भएको र दलहरुले पनि त्यही सुझाव दिएपछि आफुले दिन र समय तोकेको जानकारी दिनुभयो ।
सभामुख घर्तीले संसद नियमवली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति र समय तय गरेको बताउनुभयो ।
सभामुख घर्तीको निर्देशन अनुसार संसदका महासचिव मनोहरप्रसाद भट्टराइले नयाँ प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय शनिवार ११ बजे देखि ४ बजे सम्म तय गरिएको सुचना प्रकाशित गर्नुभएको छ ।
सुचनामा उम्मेदवारको सुची पनि शनिवार नै प्रकाशित हुने उल्लेख छ ।
संसद खुलाउने विषयमा शुक्रवार दुइ चरणमा भएका वार्तामा प्रमुख दलहरुबीच कुरा नमिलेका कारण संसद बैठकबाट निर्वाचन प्रकृया अघि बढाउनुको साटो सभामुखले सत्तापक्षको सुझाव अनुसार सुचना टाँसेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने प्रकृया अघि बढाउनुभएको हो ।
संसद अवरुद्ध हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय प्रकृयाबाट प्रधानमन्त्री चयन गर्न आब्हान गर्नुभएको पत्र समेत बैठक मार्फत सांसदहरुले जानकारी पाएका छैनन् ।
बिपक्षी एमालेले भने प्रधानमन्त्रीको निर्वाचनका सवै प्रकृया संसदवाटै गर्नुपर्ने भन्दै सुचना टाँसेर कार्यतालिका सार्वजनिक गर्ने बिषयमा विरोध जनाएको छ । सभामुख घर्तीको पहलमा भएका बैठकमा पनि विपक्षी एमालेले संसदीय प्रकृया छाडेर सुचना टास्ने बिषयमा असहमति जनाएको थियो ।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले २१ गते संसद खोल्ने बिषयमा सहमति गरेर संसदीय प्रकृयाबाट नै प्रधानमन्त्री चयन हुनुपर्ने पक्षमा आफुहरु रहेको जानकारी दिनुभयो ।
शुक्रवार नै एमाले सहितका विपक्षी दलहरुको बैठकमा पनि संसदीय प्रकृयाबाट अघि बढ्न उपयुक्त हुनेबारे छलफल भएको थियो । बैठकमा भरतपुरको मतगणना पुन शुरु गर्नुपर्नेमा दलहरु एकमत भएका थिए ।