संसदको अवरोध खोलेर निर्वाचनका गल्ती स्वीकार्दै प्रधानमन्त्रीको निर्वाचन गर्न प्रमुख तीन दल सहमत

काठमाडौ । जेठ २२ । संसदको अवरोध अन्त्य गरी मंगलवार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित हुने प्रकृया अघि बढाउन प्रमुख दलहरुबीच सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरवारमा सोमवार बसेको सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका शिर्ष नेताहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो ।
स्थानीय तहको पहिलो चरणमा भएका गल्ति कमजोरीलाई सत्तापक्षले स्वीकार गर्ने र आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि विपक्षी एमाले संसदको अवरोध खोल्न सहमत भएको हो ।
नेताहरुबीच भएको सहमति अनुसार भोली संसदको पहिलो बैठकमा प्रधानमन्त्री सहित सत्ता पक्षका नेताहरुले विगत भएका निर्वाचनका कमजोरी स्वीकार गर्दै आगामी दिनमा त्रुटी हुन नदिने र संविधान कार्यान्वयनका लागि निर्धारित समय सिमा भित्रै प्रदेश र संघिय संसदको समेत चुनाव गराउने प्रतिवद्धता जनाउने छन् ।

यस्तै नेकपा एमालेका नेताहरुले पनि संसदको मिलेर अघि बढ्नुपर्नेबारे आफ्ना धारणा राख्नेछन । त्यसका लागि संसदका दुइवटा बैठक बस्नेछन । दोश्रो बैठकमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुनेछ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता झलनाथ खनालले विगतमा भएका गल्ती स्वीकार गर्ने र संसदको अवरोध अन्त्य गर्ने सहमति भएको र मंगलवार संसदको पहिलो बैठकमा सभामुखले प्रधानमन्त्री निर्वाचनको प्रकृयाबारे जानकारी गराउँने तथा शीर्ष नेताहरुले सम्वोधन गर्ने र केहीसमयपछि दोश्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको बताउनुभयो ।

काँग्रेस नेता विमलेन्द्र निधि र माओवादी नेताहरु नारायणकाजी श्रेष्ठले पनि संसदको अवरोध नहुने गरि दलहरुबीच सहमति भएपछि मंगलवार २२ गते नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री निर्वाचित हुनुहुने बताउनुभयो ।

दलहरुबीचको विवादका कारण संसद चल्न नसक्दा गत शुक्रवार सुचना टाँसेर सभामुखले प्रकृया शुरु गरेपनि प्रधानमन्त्री निर्वाचन हुन सकेको थिएन । प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको एक्लो उम्मेदवारी परेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.