काठमाडौ । जेठ २३ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले
भरतपुरमा मतपत्र च्यात्ने घटना दुखद र गलत भएको भन्दै निर्वाचन आयोगलाई पनि त्यसवारे सोधेको जिकिर गर्नुभयो । भरतपुरमा अपवादको घटना भएको भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो– उम्मेदवार र छोरी रेणु दाहाललाई आफुले फोन गरेर जिते पनि जित्यौ हारे पनि जित्यौ ढुक्कसँग बस्नु भनेको थिए ।
भरतपुरमा कुनै लुकिछिपी नभएको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचन आयोगलाई हस्तक्षेप गर भने नभनेको बताउनुभयो ।
ब्यक्तिगत रुपमा आफु मतगणना हुनुपर्छ भन्ने केपी ओलीको भनाइकै पक्षमा रहेको तर कानून बमोजिम हुनुपर्छ भन्ने सवैले मान्नुपर्ने जिकिर गर्नुभयो ।
आफुलाइ देश र जनताको हित बाहेक अरु चिन्ता नभएको भन्दै पार्टीले जित्ने हार्ने भन्दा देश र जनताले जित्ने हार्ने मुख्य चिन्ता भएको उल्लेख गर्नुभयो ।
भरतपुर हेरौ अव ठुलो कुरा भयो– दाहालले भन्नुभयो– यो बिचित्रको भयो अदालत, निर्वाचन आयोग र सवै दलहरु सहित सवैको आँखा पुगेकोले भरतपुरले शिक्षा दिने बताउनुभयो ।
लोकतान्त्रिकरणमा आफ्नो निष्ठामा शंका नगर्न आग्रह गर्दै दाहालले लोकतन्त्रका निष्ठाका लागि चाहिएको प्रमाण दिन तयार रहेको उल्लेख गर्नुभयो ।
दोश्रो संविधानसभामा पार्टीले हार्दा हाम्रै नेताले मतपत्र च्यात्ने र जलाउने गर्न प्रस्ताव गर्दा ३ बजे राती आफुले रोकेको पनि दावी गर्नुभयो ।
निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर सदन अवरोध किन गरेको भनेर एमालेलाई प्रश्न गर्दै प्रधानमन्त्री दाहालले महाअभियोग फिर्ता लिने प्रकृया पनि संसदको अवरोधले रोकिएको जिकिर गर्नुभयो ।
दोश्रो चरणको निर्वाचन असार १४ मै गर्ने र प्रदेश तथा केन्द्रीय संसदको निर्वाचन पनि समयमै गर्ने सहमति भएको बताउनुभयो ।
उहाँले सवैपक्षलाई समेटेर निर्वाचन र संविधान कार्यान्वयनमा जानुपर्ने बताउनुभएको छ ।
सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयकले सवैका भावनालाई समेट्ने दावी गर्दै प्रधानमन्त्री दाहालले एमालेले पनि चुनाव पछि छलफल गर्न सकिन्छ भन्नु सकारात्मक भएको र चुनाव अघि नै भए झन राम्रो हुने बताउनुभयो ।
राष्ट्रिय एकताको निम्ति त्याग र लचकता आवश्यक भएको भन्दै प्रधानमन्त्री दाहालले आफुले धेरै अप्ठारासँग जुधेर स्थानीय तहको पहिलो चरणको निर्वाचन गर्न अघि बढेको स्मरण गर्नुभयो ।
उहाँले काँग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचन चैतभित्र सकेर चैत मसान्तमै सरकारको नेतृत्व फेर्ने सहमति भएको र चुनाव लम्विएपछि दवावले हैन आफुले सहमति अनुसार नै राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
संविधान बनाउने बेला चार जना नेतावीच कुरा हुँदा आफुले सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउँन आफैले प्रस्ताव राखेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विगतमा केपी ओलीसँग पनि समझदारी भएको तर तोडिएको दावी गर्नुभयो ।
त्यो बेला बजेट आउनुअघि नै सरकार परिवर्तनको प्रस्ताव काँग्रेसले गरेको भन्दै दाहालले मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराइका पालादेखि नै सरकारबारे सहमति गर्ने र तोड्ने परम्परा रहेको पाइएकोले आफुले आफ्नै इच्छाले राजीनामा दिएको पनि पुन स्पष्ट पार्नुभयो ।
यसअघि संसदमा संवोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर प्रकरण अदालतमा पुगेको भन्दै निर्वाचन आयोगले गरेको निर्णय मान्नुपर्ने बताउनुभयो ।
महाअभियोग प्रस्ताव यो संसद चल्न पाएको भए पहिल्यै फिर्ता हुन्थ्यो भन्दै देउवाले प्रधानमन्त्रीको राजीनामाबारे चिन्ता गरेकोमा ओलीलाई धन्यवाद भन्दै पछि पनि चिन्ता गर्न आग्रह गर्नुभयो ।
असार १४ गतेको निर्वाचन र त्यसपछिका निर्वाचन पनि तोकिएकै मितिमा हुनेमा सहमत भएको बताउनुभयो ।
राष्ट्रियता काँग्रेसको सिद्धान्त भएकोले राष्ट्रियताका पक्षमा काँग्रेसलाई कसैले पाठ पढाउन नपर्ने र राष्ट्रियताबारे कसैसँग सम्झौता गर्न नसक्ने देउवाको भनाई थियो ।