दोश्रो चरणको निर्वाचनमा मधेशको पहिलो शक्ति बनेर प्रमाणित गर्ने छौं– उपमहासचिव पौडेल

भैरहवा, २५ जेठ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले तराई मधेशको विकास गर्ने सच्चा पार्टी एमाले भएको बताउनु भएको छ ।

उहाँले एमालेलाई मधेश विरोधी भनेर जति प्रचार गरे पनि दोस्रो चरणको निर्वाचनमा मधेशमा पहिलो शक्ति बनेर प्रमाणित गरिने बताउनुभयो ।

एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले बिहीबार भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनुभएको हो । ‘हामी मधेशी जनताको विरोधी होइनौं’, पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले भन्नुभयो– ‘एमाले सरकारको पालामा जति तराई मधेशमा बजेट अहिलेसम्म कुनै सरकारले ल्याएको छैन । कसैले आरोप लगाउँदैमा एमालेलाई मधेश विरोधी भन्नु गलत हुन्छ ।’

उहाँले रुपन्देहीका केही ठाउँहरुमा विगतमा जित हासिल गर्न नसके पनि अबको निर्वाचनमा एमालेको विकास निर्माण नीति, सिद्धान्त र राष्ट्रप्रेमलाई हेरी जनताले अब जिताउने बताउनुभयो । सिद्धार्थनगरमा एमाले बलियो शक्ति भएकोले स्थानीय निर्वाचनमा विजयी हुने दावी समेत गर्नुभयो । उहाँले भैरहवा टेकेर एमालेले रुपन्देहीका सबै क्षेत्रहरु झण्डा फरफराउने समेत बताउनुभयो ।

शाही कालका एकआध केही नेताहरुले व्यक्तिगत दुईचार लाखको बजेट बाड्दै निर्वाचनका बेला सिद्धार्थनगरबासीमा भ्रम सिर्जना गर्दै चुनाव नजित्ने बताउनुभयो । सचेत मतदाताले जहिले पनि विगतमा कुन पार्टी के कति काम गरेको छ र उसका उम्मेदवारको भूमिका के छ भन्ने कुरा मध्यनजर गरी मतदान गर्ने बताउनुभयो ।

पौडेलले विगतमा क्षेत्र नं. २ बाट जितेका जनप्रतिनिधिले जनताको काम भन्दा कार्यकर्ता र आफ्नो व्यक्तिगत फाइदामा लागेकोले प्राप्त मात्रमा सिद्धार्थनगर विकास हुन नसकेको उहाँको भनाई छ । सिद्धार्थनगरको चरणबद्ध विकासका लागि एमालेका उम्मेदवारहरुले जित्नु पर्ने पौडेललेको भनाई छ ।

उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरमा एमाले अन्य पार्टीसँग एलायन्स गरी चुनाव लड्न लागेको भनेर भ्रामक प्रचार गरिएको भन्दै एमाले अरुको सहारा विना विजयी हुने दावी गर्नुभयो । ‘एमाले मधेशी, पहाडी, मुस्लिम, अल्पसंख्यक, पिछडा सबै जातजाति, धर्म–संस्कृतिको संरक्षण गर्ने पार्टी हो’, भुसालले भन्नुभयो– ‘सबैको क्षेत्रको प्रतिनिधित्व गर्ने भएकै कारण एमालेप्रति जनताको विश्वास रहेको छ ।’

भारतले यस्तो विकास गर्यो, चीनले उस्तो विकास गर्यो भनेर भन्नुभन्दा एमालेलाई जिताई आफ्नो देशले गरेको विकासको प्रशंसा गर्नु पर्ने उहाँको भनाई छ । केन्द्रको सरकारलाई स्थानीय तहसम्म ल्याउने पार्टी एमाले नै भएको भन्दै भुसालले त्यो सरकारको नेतृत्व पनि जनताले एमालेकै जिम्मा लगाउने बताउनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले नाकाबन्दीका बेला एमाले नेतृत्व सरकारले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै त्यसैको प्रतिफल स्वरुप पहिलो निर्वाचनमा एमाले पहिलो शक्ति बनेको बताउनुभयो । उहाँले पाँच नम्बर प्रदेश दुक्राउनु पर्छ भन्ने शक्तिहरु अहिले नक्राउन हुन्न भन्ने एजेण्डा हाम्रो भएको भन्दै हिँडिरहेको बताउँदै जनतालाई भ्रममा नपार्न आग्रह गर्नुभयो ।

केन्द्रिय सदस्य राधादेवी ज्ञवालीले एमाले पाँच नम्बर प्रदशेमा दुई तिहाई बहुमतका साथ पहिलो शक्ति बन्ने दावी गर्नुभयो । उहाँले विष्णु पौडेल अर्थमन्त्री हुँदा यो प्रदेशमा इतिहासकै सबैभन्दा धेरै बजेट परेको बताउँदै जनताले त्यसको कदर गर्ने बताउनुभयो ।

सो अवसरमा राजपा, काँग्रेस, फोरम, नयाँ शक्ति, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका पार्टी परित्याग गरी सयौं कार्यकर्ता एमाले प्रवेश गरेका थिए । उनीहरुलाई उपमहासचिवद्वयले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

निर्वाचन परिचालन समिति संयोजक जीवलाल अर्याललको अध्यक्षता, निर्देशन समितिका सदस्य डा.रामप्रसाद बश्यालको स्वागत तथा सदस्य गोविन्द रेग्मीको संचालनमा भएको कार्यक्रममा सिद्धार्थनगरको मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारी, उपमेयरकी उम्मेदवार उमा काफ्ले र १३ वटै वडाका वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुको पनि उपस्थिति थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.