संसदमा प्रधानमन्त्रीलाई शुभकामना– सत्तापक्षको तारिफ, विपक्षी एमालेको खवरदारी र आन्दोलनरत दलको माग

काठमाडौ । जेठ २७ । संसदमा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै सत्तापक्षले तारिफ गरेको छ । विपक्षी एमाले सहितका दलले खवरदारी गरेका छन र मधेश केन्द्रित दलले सहमति कार्यान्वयन गर्न माग गरेका छन ।

संसदको शुक्रवारको वैठकमा सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तीनवटै तहको निर्वाचन समयसिमा भित्रै निर्वाचन गरेर संविधान कार्यान्वयन र सहकार्यको राजनीतिमा जोडदिएर अघि बढ्न र विगतका कमजोरी नदोहोराउन सुझाव दिएका हुन ।

ब्यवस्थापिका संसदको शुक्रवारको बैठकमा सांसदहरुले राष्ट्रिय हित र जनताको सुविधालाई ध्यान दिन पनि प्रधानमन्त्रीलाई सुझाव दिए । आन्दोलनरत दलका सांसदहरुले भने आफुसँग भएको सहमति कार्यान्वयन गरेर चुनावको वातावरण बनाउन माग गरे ।

बैठकमा नेपाली काँग्रेसका कोषाध्यक्ष तथा सांसद सितादेवी यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिदै देश र जनताका लागि देउवाको कार्यकाल सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले सवै मिलेर तीनवटै तहको निर्वाचन समयसिमा भित्रै निर्वाचन गरेर संविधान कार्यान्वयन र सहकार्यको राजनीतिमा जोडदिएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । संविधान संशोधनको साँचो एमालेको हातमा रहेकोले मिलेर अघि बढ्न प्रस्ताव गर्नुभयो ।

नेकपा एमाले सांसद सुवासचन्द्र नेम्वाङले राम्रा काम गर्दा समर्थन र गलत काम भए आलोचना सहित खवरदारी हुने बताउनुभयो ।
उहाँले निरंकुशता विरुद्ध आन्दोलन गरेका दलहरु एक ठाउँमा उभिर अघि बढन सके संविधान कार्यान्वयन र निर्वाचन सफल गर्न सजिलो हुने बताउँदै त्यो भूमिका प्रधानमन्त्रीले खेल्नुपर्नेमा जोडदिनुभयो ।

अघिल्लो सरकारले प्रतिपक्षी दल एमालेलाई कुनामा पार्ने काम भएको भन्दै उहाँले चुनाव सार्दा होस वा संविधान संशोधनका कुरा गर्दा सधै प्रतिपक्षलाई उपेक्षा गरिएको गुनासो गर्नुभयो ।
भरतपुर प्रकरणमा मतपत्र च्यात्नु हुन्न समेत भन्न नसकेको भन्दै एमाले सांसद नेम्वाङले असार १४गतेको स्थानीय तहको निर्वाचन शान्तिपुर्ण र निष्षक्ष हुनुपर्नेमा जोडदिनुभयो ।

माओवादी केन्द्रका सांसद अग्नि सापकोटाले राष्ट्रिय हित र संविधान कार्यान्वयन गर्न सरकार सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । दोश्रो चरणको निर्वाचन शान्तिपुर्ण र निष्पक्ष रुपमा सफल बनाउनु र विपक्षीहरुलाई समहमतिमा ल्याएर संविधान संशोधनको वातावरण बनाउनु सरकारको तत्कालिन प्राथमिकता भएको बताउनुभयो । उहाँले सन्तुलित विदेश नीति अपनाउन पनि सुझाव दिनुभयो ।

बैठकमा सांसद तथा राजपाका नेता महेन्द्र यादवले संविधान कार्यान्वयन गर्ने हो भने तीन बुँदे सहमति कार्यान्वयन गरेर संविधान संशोधन गर्नुपर्नेमा जोडदिनुभयो ।

शहिद घोषणा र झुटा मुद्दा खारेज तथा घाइतेको उपचार खर्च दिइएन भने आफुहरु चुनावमा नजाने बताउँदै नेता यादवले देशमा जटिलता भए सरकार र प्रतिपक्ष दल जिम्मेवार हुनुपर्ने चेतावनी दिनुभयो ।
निर्वाचनको वातावरण बनाएमा आफुहरु चुनावमा तयार रहेको भन्दै उहाँले राष्ट्रिय समस्या मानेर निकास दिए सहज रुपमा चुनावमा जाने बताउनुभयो ।

यादवले आफ्नो दल र संसदमा गरेको प्रतिवद्धता पुरा हुनेमा विश्वास लागेको बताउँदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
यादवले प्रम देउवाले राजनीतिक विश्वासको वातावरण बनाएको भन्दै सहमति कार्यान्वयन गर्न माग गर्नुभयो ।

राजपाका अर्का नेता सर्वेन्द्रनाथ शुक्लले आफुहरुसँग भएका सहमति पालना गर्न र संविधान संशोधन अघि बढाउन माग गर्नुभयो । सहमति कार्यान्वयन नभए चुनाव हैन आन्दोलनमा धकेल्ने काम भएको पुष्टि हुने भन्दै उहाँले सरकारले वार्ता र संवादलाई उपेक्षा गरेको बताउनुभयो ।

अहिलेको मतपत्रमा आफुले चुनेको ब्यक्तिलाई मत दिन समस्या भएको र निर्वाचन आयोगले वास्ता नगरेको आरोप पनि लगाउनुभयो ।
राप्रपाकी सांसद कुन्तिकुमारी शाहीले राष्ट्रिय एकता र अखण्डता बलियो बनाउन सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
सांसद तथा फोरम लोकतान्त्रिकका नेता जनकराज चौधरीले सहमतिका साथ अघि बढ्न प्रधानमन्त्री देउवालाई शुभकामना दिनुभयो ।
संघिय समाजवादी फोरमका सांसद शिवजी यादवले सहमति र सहकार्यका साथ अघि बढन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसीले प्रम निर्वाचनमा भोट नदिएपनि निर्वाचन सफल बनाउन र राष्ट्रियता सार्वभौमिकता र अखण्डताका पक्षमा काम गरे सहयोग गरिने र नराम्रो गरे खुलेर विरोध गरिने बताउनुभयो ।

नेता केसीले प्रधानमन्त्रीलाई चुन्नेबेला संविधान मान्ने चुनावका बेला नमान्ने मधेश केन्द्रित दलको तरिका के हो भन्ने प्रश्न गर्दै गर्नुभयो ।उहाँले गणतन्त्रमा दश प्रधानमन्त्री बनाएर कति अस्थिरता छ भन्ने देखाउन सफल भएको भनेर ब्यङ्ग्य गर्दै गणतान्त्रिक संविधानमाथि कालो बादल मडाइरहेको बताउनुभयो ।

नेमकिपाका सांसद प्रेम सुवालले सरकारले जनताको हित अनुसारको काम गर्नुपर्ने भन्दै नेपालीको लगानीमा जलविद्युत उत्पादन, युवालाई स्वदेशमै कामको वातावरण मिलाउन, सिमा सुरक्षा, मुलुकको हित लगायतका नितिलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।
सांसद गंगा चौधरीले नयाँ सरकारमा एक जना पनि महिला मन्त्री नहुनु दुर्भाग्यपुर्ण भएको टिप्पणी गर्नुभयो । चौधरीले थारु समुदायका २२ जना जेलमा रहेको भन्दै छिटो थुनामुक्त गर्न माग गर्नुभयो ।

सांसद डिम्पल कुमारी झाले मधेश आन्दोलन जारी रहेको भन्दै संविधान संशोधन गरेर आफुहरुलाइ पनि समेटन आग्रह गर्नुभयो ।
सांसद प्रेमबहादुर सिंह, कुमार खड्का, लक्ष्मण राजवंशी, सिमाकुमारी विक, धर्मेन्द्र कुमार शाह, नरसिंह चौधरी र लोकमणी ढकाल तथा सांसद मिलनकुमारी राजवंशी लगायतले विगतका तीन कार्यकालका खराव छवि हटाएर सवैलाई समेटेर अघि बढेमा देउवा नेतृत्वको सरकार सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.