काठमाडौ । जेठ २८ । ब्यवस्थापिका संसदले सवै प्रकृया निलम्वन गरेर हतार-हतारमा राजनीतिक दलसम्बन्धी विधेयक संशोधन गरेको छ ।
प्रक्रियाबमोजिम विधेयक पारित गराउन सरकारले कम्तीमा पाँच दिनअगावै संशोधन विधेयक संसदमा पेस गर्नुपर्ने हुन्छ । तर, राजपा नेपाललाई दल दर्ता गरेर निर्वाचन चिह्न लिनका लागि बाटो खुलाउन आइतवार सबै नियम निलम्वन गरिएको हो ।
राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन संसदबाट दलसम्वन्धि विधेयक संशोधन गरिएको हो । संशोधनसँगै ६ दल मिलेर बनेको राजपालाई दलको मान्यता पाउने बाटो खुलेको छ ।
विधेयक पारित गर्नुअघि संशोधन दर्ता गर्न पाउने लगायतका नियम निलम्वन गर्दै गरिएको विधेयकमा एकीकरणअघिका ६ वटै दलले प्रयोग गरेको चुनाव चिह्नमा राजपाले निर्वाचन लड्न सक्ने व्यवस्था छ । तर, एउटै जिल्लामा भने फरक-फरक चुनाव चिह्न लिन नपाइने व्यवस्था विधेयकमा छ ।
केही साना दलहरुले भने सरकारले प्रक्रिया मिचेर विधेयक ल्याएको भन्दै विरोध जनाएका थिए ।
संसद वैठक अव चुनाव सम्मका लागि स्थगित गरि अर्को बैठक असार १८ गते १ बजे बस्ने गरि बोलाइएको छ ।
यसअघि आइतवार नै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल दर्तासम्बन्धी संशोधन विधयेक संसदमा लैजाने निर्णय गरेको थियो ।