पत्रकार महासंघको महाधिवेशनको मिति सार्न माग

काठमाडौ । जेठ ३० । असार १४ गते हुने स्थानीय तह निर्वाचनका कारण समय अनुकुल नहुने भन्दै नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनको मिति सार्न पत्रकारहरुले माग गरेका छन ।

असार १४ गते स्थानीय तहको निर्वाचन भएपछि मतगणना र चुनावी परिणामको रिपोर्टिङ्मा पत्रकारहरु सहभागी हुनुपर्ने भएकोले असार २१ र २२ गते तय भएको महासंघको महाधिवेशनको मिति कम्तिमा एकसाता पर सार्न माग गरिएको छ ।

प्रदेश नम्वर १,२,५ र ७ नम्वर प्रदेशको निर्वाचन र त्यसपछि हुने लामो मतगणना प्रकृयाका कारण पत्रकारहरु महाधिवेशनमा सहभागि हुन नपाउने अवस्था आउने भन्दै रामकृष्ण भण्डारीको अगुवाइमा महाधिवेशनको मिति सार्न महासंघलाई ध्यानाकर्षण पत्र समेत बुझाइएको छ । ध्याकर्षणपत्रमा असार २८ गतेपछि मात्रै महाधिवेशन गर्न पनि माग गरिएको छ ।

केन्द्रीय सभासद समेत रहेका पत्रकार भण्डारीले महाधिवेशनको मिति सार्ने बिषयमा महासंघसँग छलफल र समन्वय गर्न प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सोसाइटी नेपाल, प्रगतिशिल पत्रकार संघ, संचारिका समुह, फोनिज नेपाल, मधेशी पत्रकार समाज लगायतका पत्रकारहरुका संगठनहरुलाइ ध्याकर्षणपत्र बुझाएका छन ।

नेपाल पत्रकार महांसघले आगामी असार २१ र २२ गते २५ औ महाधिवेशन गर्ने निर्णय सहित सम्वन्धित शाखाहरुलाई पत्राचार गरेपछि उक्त समयमा श्रमजीवि र सक्रिय पत्रकार तथा केन्द्रिय सभासदहरु स्थानीय निर्वाचनको रिपोर्टिङमा खटिनुपर्ने भएको भन्दै महासंघको ध्यानाकर्षण गराइएको हो ।

महासंघको महाधिवेशन नेपाली पत्रकारहरुको सवैभन्दा ठुलो उत्सव भएकोले नीति निर्माण तथा नेतृत्व चयन गर्ने अवसर र अधिकारबाट पत्रकारहरुलाई बन्चित नगर्न र सवै पार्षद्हरु सहभागी हुन पाउने र सरकारले तोकेको स्थानीय निर्वाचनको प्रकृया पुरा पनि हुने गरि समय तालिका मिलाएर महाधिवेशन गर्न पनि आग्रह गरिएको छ ।

सरकारले आगामी असार १४ गते स्थानीय तहको दोश्रो चरणको निर्वाचन गर्न लागेकोले त्यसको मतगणना र कतिपय अवस्थामा निर्वाचन प्रकृया समेत केही दिन लम्विने हुँदा कैयौ पत्रकारहरु रिपोर्टिङमा संलग्न हुनुपर्ने र सम्वन्धित संचारगृहहरुबाट समेत निर्वाचनको मतगणना लगायतका प्रकृया बाँकी छदा महासंघको महाअधिवेशनमा काठमाडौ आउन पत्रकारहरुले विदा नपाउने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस्तै महासंघको निर्वाचनमा समेत पत्रकारहरु उम्मेद्वार बन्ने भएकोले उनीहरुले निर्वाचनको तयारी समेत गर्न नपाउने अवस्था आउने भएकोले वास्तविकतालाई ख्याल गर्न समेत आग्रह गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.