भैरहवा, ३१ जेठ । नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारले नगरलाई लोडसेडिङमुक्त गराउन “सिद्धार्थनगर–उज्यालो शहर” अभियान संचालन गर्ने जनाएका छन् ।
बुधबार भैरहवामा भएको मतदातासँगको अन्तरक्रियामा बोल्दै उनीहरुले सो कुराको उद्घोष गरेका हुन् । मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारीले आफूले जितेपछि नगरलाई उज्यालो सहर बनाउने अभियान थाल्ने बताउनु भयो ।
अनियमित लोडसेडिङ, कम भोल्टेजले गर्दा उद्योगी, व्यवसायी, नगरबासीलाई अत्यन्तै समस्या पारेको बताउँदै अधिकारीले आफू निर्वाचित भए उज्यालो सिद्धार्थनगर अभियान चलाई सधैभरी कम भोल्टेज र अनियमित लोडसेडिङ भयो भन्ने दिनको अन्त्य गर्ने बताउनुभयो ।
‘भारतबाट ल्याइएको विद्युत् कम भोल्टेजको हुँदा नगरबासीलाई दुःख भएको छ’, उहाँले भन्नुभयो– ‘भैरहवामा १३२ केभीए प्रसारण लाइन नआउँदासम्म समस्या समाधान हुँदैन । त्यसैले मैले माथिल्लो स्तरबाटै पहल गरी समस्या समाधान गर्नतर्फ लाग्ने छु ।’ राष्ट्रिय गौरवका आयोजनाहरु विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य आयोजनाहरु संचालन गर्न पनि १३२ केभीए प्रसारण लाइन अत्यन्त आवश्यक भएकाले आफूले यथासक्य प्रसारण लाइन ल्याउन पहल गर्ने अधिकारीले बताउनुभयो । उहाँले नगरको कोषबाट बैकल्पिक उर्जा व्यवस्थापन गरी नगर र उद्योगहरुलाई लोडसेडिङमुक्त गराइने आफ्नो योजना रहेको बताउनुभयो । नगरका सबै सडकमा सोलार बत्ति जडान गरिने उहाँको भनाई छ ।
उपमेयरबी उम्मेदवार उमा काफ्लेले विद्युत् समस्यालाई समाधान गर्न सौर्य उर्जा र ठूलो क्षमता भएको जेनेटरको व्यवस्था गरिने बताउनु भयो । उहाँले अहिलेको विद्युत्ले घरको ट्यांकीमा पानी समेत नचढ्दा नगरबासीले विद्युत् भएको महसुस समेत गर्न नपाएको बताउँदै एमालेले जिते जनताको साथ र सहयोगबाटै उज्यालो सिद्धार्थनगर बनाउन अपेक्षाकृत काम गरिने बताउनुभयो । गरिब, विपन्न, अल्पसंख्यक, सीमान्तकृत, पिछडा वर्गका लागि सहुलियतमा विद्युत् उपलब्ध गराउने उहाँको भनाई छ ।
एमालेका मेयर र उपमेयरका उम्मेदवारले यतिबेला मतदाता, संघसंस्था भेटघाट र अन्तरक्रियालाई तीव्र पारेका छन् ।
नगरपालिकाका वडा नं. १ का वडाअध्यक्षका उम्मेदवार धर्मराज गिरी, २ का दिपक थापा, ३ का थानेश्वर पौडेल, ४ का इस्लाम अली चुडीदार, ५ का चेतबहादुर क्षेत्री, ६ का नसीबदार मुसलमान, ७ का हितराज पन्थी, ८ का राजेन्द्रप्रसाद पन्थी, ९ का शेषकान्त भण्डारी, १० का शंकर मुराव, ११ का दिलिप यादव, १२ का घनेन्द्रविक्रम पाण्डे र १३ का शतिष मर्सानीले मतदाता शिक्षा र आन्तरिक छलफललाई तीब्रता दिएका छन् ।