सिद्धार्थनगरको टोल–टोलमा एमाले भेला

भैरहवा, ३ असार ।आगामी स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित गर्न एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले ठाउँठाउँमा टोल भेला गरेको छ ।
वडा नं. २, ८, ११ को विभिन्न ठाउँमा भएको टोल भेलाले निर्वाचनमा एमाले उम्मेदवारहरुलाई सहघाउने निर्णय गरेको संयोजक जीवलाल अर्यालले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै मेयरका उमेदवार हरिप्रसाद अधिकारीले एमालेको ६५ बुदें प्रतिबद्धता अनुसार सिनपालाई विकासको रोलमोडल बनाउने बताउनुभयो । चीन र भारतको मैत्री पुलको रुपमा भैरहवालाई विकास गरेर लैजाने गरी एमालेले काम थाल्ने उहाँले बताउनुभयो । आफू जहिले पनि जनहीतको पक्षमा काम गर्दै आएको बताउँदै अधिकारीले आफूले जिते शिक्षा, स्वास्थ्य, उद्योग–व्यवसायको प्रबद्र्धन, पर्यटनमैत्री नगरका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले सबै धर्म, संस्कृतिको संरक्षण गर्दै सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
उपमेयरको उमेदवार उमा काफ्लेले सिद्धार्थनगरलाई पयटकीय, औद्योगिक व्यापारीक नगरको रुपमा विकास गर्दै मुलुककै विकसित र उदाहरणीय नगर बनाउन आफुहरु दिनरात खटिने बताउनुभयो । उहाँले कृषि, विपन्न वर्गका लागि रोजगारी, सडक, ढल निकास, गृहणी महिला, लागू औषध नियन्त्रण, सरसफाई लगायतका क्षेत्रमा आफूले चरणबद्ध काम गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष पदका उमेदवार राजेन्द्र प्रसाद पन्थी, वडा नं. २ का अध्यक्ष पदका उम्मेदवार दीपक थापा, ११ का दिलिपकुमार यादव लगायतले बोल्दै आफूहरुले जिते वडालाई शिक्षा, स्वास्थय, रोजगारयुक्त सुन्दर वडाका रुपमा विकास गरेर देश–विदेशका पर्यटकहरुलाई विकासको नमुना हेर्न आफ्नो वडाहरुमा आउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यता वडा नं. १ का वडाअध्यक्षका उम्मेदवार धर्मराज गिरी, ३ का थानेश्वर पौडेल, ४ का इस्लाम अली चुडीदार, ५ का चेतबहादुर क्षेत्री, ६ का नसीबदार मुसलमान, ७ का हितराज पन्थी, ९ का शेषकान्त भण्डारी, १० का शंकर मुराव, १२ का घनेन्द्रविक्रम पाण्डे र १३ का शतिष मर्सानीले पनि टोल भेला र मतदाता शिक्षालाई तीव्रता दिएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.