बुटवल, ४ आषाढ । यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनकालागि नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै
स्थानीय तहमा उत्साहका साथ उम्मेद्वारी दर्ता गराएको छ ।
रुपन्देही जिल्लामा एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँ पालिका छन् । कांग्रेसले बुटवल
उपमहानगरपालिका र देवदह नगरपालिकामा नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरी सोही अनुसार
उम्मेदवारी दिएको छ । बुटवल उपमहानगर पालिकामा मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा
माओवादी केन्द्रका जगतबहादुर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुले संयुक्त रुपमा उम्मेदवारी
दर्ता गराउनुभएको हो । त्यस्तैगरी माओवादी केन्द्रसंगै तालमेल भएको देवदह नगरपालिकामा मेयर पदमा नेपाली
काँग्रेसका हिराबहादुर खत्री र उपमेयरमा माओवादी केन्द्रका टीका न्यौपाने (गौतम)ले उम्मेदवारी दर्ता गराउनुभएको
छ ।
नेपाली काँग्रेसले तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसंग चुनावी तालमेल गरेको छ । तिलोत्तमा
नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट रामकृष्ण खाँण र उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीको
तर्फबाट गीता सारुले उम्मेदवारी दर्ता गराउनुभएको छ । तिलोत्तमा नगरपालिकामा दुई पार्टीको चुनावी तालमेल
भएपनि चुनाव चिन्ह भने दुवै पार्टीको एउटै रुख हुने सहमति गरि सोही अनुसार उम्मेदवारी दर्ता गरिएको नेपाली
काँग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति प्रेमबहादुर फौदारले बताउनु भयो ।
तर तिलोत्तमा नेपाली कांग्रेसका गणेश पाठकले बाघी उम्मेदवारी दिनुभएको छ। कांग्रेसमा पारिवारिकरण भएको भन्दै त्यसलाई चिर्न आफूले बागी उम्मेवादारी दिएको उहाले बताउनुभयो। झण्डै दुई सय कार्यकर्ता लिएर पाठक उम्मेदवारी दिने स्थान पुग्नुभएको थियो।
सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेसका मातृकाप्रसाद यादवले मेयर पदमा र माधवी शर्मा वाग्लेले
उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै सैनामैना नगरपालिकामा मेयर पदमा कांग्रेसका फणेन्द्र शर्मा
वाग्ले र उपमेयरमा लक्ष्मी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने, गौतम
बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेसका मोहम्मद सईद खाँले मेयर पदमा र उपमेयरमा
रमावती यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तैगरी कांग्रेसका तर्फबाट सियारी गाउँपालिकाको प्रमुखमा थानेश्वर घिमिरे र उपप्रमुखमा रीता चौधरी, सुद्धोधन
गाउँपालिकामा प्रमुखमा भगवतीप्रसाद चौधरी र उपप्रमुखमा रामेश्वरी सिंह, ओमसतीया गाउँपालिकामा प्रमुखमा
महेन्द्रप्रसाद चौधरी र उपप्रमुखमा मीना भण्डारी, कञ्चन गाउँपालिकामा प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा
तीर्थकुमारी थारु, कोटरीमाई गाउँपालिकामा प्रमुखमा बिदेन्द्र जैसवाल र उपप्रमुखमा सम्पत्ती यादवले उम्मेदवारी दर्ता
गराउनुभएको छ ।
त्यस्तै कांग्रेसका तर्फबाट गैडहवा गाउँ पालिकामा प्रमुखमा बसिउल्लाह मुसलमान र उपप्रमुखमा मञ्जु न्यौपाने,
मर्चवारी गाउँपालिकामा प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरई, मायाँदेवी गाउँपालिकामा प्रमुखमा
ध्रुवनारायण चौधरी र उपप्रमुखमा कान्ति यादव, रोहिणी गाउँपालिकामा प्रमुखमा अकवाल खाँ र उपप्रमुखमा चन्द्रवती
देवी योगी तथा समरीमाई गाउँपालिकामा प्रमुखमा बिनोद श्रीवास्तव र उपप्रमुखमा प्रियंका सिंहले उम्मेदवारी दर्ता
गराउनुभएको छ ।
सबै नगरपालिका र गाउँपालिकाका वडाहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरुले उत्साहका साथ उम्मदेवारी दर्ता
गराएका छन् । केही वडाहरुमा अन्य राजनीतिक दलहरुसंगको तालमेलका आधारमा उम्मेद्वारी दर्ता भएको छ ।