पार्टीलाई परिवारवादबाट जोगाउन मेरो उम्मेदवारी – पाठक

“कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा
चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ “

बुटवल, असार ४ । नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले पार्टीलाई परिवारवादबाट जोगाउनका लागि आफूले तिलोत्तमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको बताएका छन् । तिलोत्तमामा मेयरका लागि कांग्रेसका पुराना,
योग्य र सक्षम तमाम नेताहरु हुँदाहुँदै बुटवलका मान्छेलाई ल्याएर उम्मेदवार बनाइएकाले आफूले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको उनले प्रष्ट्याए ।

आइतबार उम्मेदवारी दर्ता गरेपछि मणिग्राममा पत्रकार सम्मेलन गर्दै युवा नेता पाठकले आफूले अब कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने प्रष्टाए । ‘तिलोत्तमाका २४ सय क्रियाशील सदस्यको मानमर्दन हुनेगरी जसरी बुटवलका मान्छेलाई ल्याएर उम्मेदवार बनाइएको छ; यसले तिलोत्तमाका स्वाभिमान कांग्रेसका कार्यकर्ताको मन रुवाएको छ ।’ पाठकले भने, ‘यहाँका कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ ।’

नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकामा पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँणका सहोदर भाई रामकृष्ण खाँणलाई मेयर पदको उम्मेदवार बनाएको छ । उनी बुटवलमा बस्दै आएका छन् । यस्तै कांग्रेसले उपमेयर र चार वडाध्यक्ष सहित १८ जना वडा सदस्य दिएर राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेको छ ।

नेता पाठकले तिलोत्तमाको परिवर्तनमा कुनै योगदान नगरेको मान्छेलाई पार्टीले उम्मेदवार बनाएको भन्दै कडा आपत्ति जनाए । ‘दिउँसो तिलोत्तमाको मेयर बन्ने र राति बुटवल गएर बास बस्ने व्यक्तिलाई हामीले कसरी स्वीकार्ने ?’ उनले प्रश्न गरे ।
मेयरका विषयमा आफूले पार्टीमा ५ महिनादेखि छलफल चलाएको बताउँदै उनले आफूले तिलोत्तमाका जोकोहीलाई मेयरको उम्मेदवार बनाऊँ बाहिरबाट मान्छे नल्याऊँ भन्दा नमानिएकाले प्रष्टाए ।

आफूले पार्टीमा न्याय र मूल्यांकन पद्धति स्थापित गराउने अभियान चलाएको बताउँदै युवा नेता पाठकले यो अभियानमा कांग्रेसका तमाम निष्ठावान् नेता÷कार्यकर्ताको साथ रहेको दाबी गरे । उनले भने, ‘तर डर, त्रास र धम्कीका कारण कयौं नेता/कार्यकर्ता यो विषयमा खुल्न सकिरहेका छैनन् । उनीहरुले यसको जवाफ असार १४ गते दिनेछन् ।’

पार्टीमा विद्रोह गर्दा आफूलाई पनि अत्यन्त दुःख लागेको उल्लेख गर्दै उनले अहिलेको यो पीडाले पछि पार्टीलाई हीत गर्ने बताए । आफ्नो उम्मेदवारी कुनै स्वार्थका लागि नभएको बताउँदै उनले पाएको पद समेत त्यागेर आफू पार्टीलाई
नातावाद र कृपावादबाट बचाउने अभियानमा लागेको बताए । पार्टीमा आफ्नो छुट्टै पहिचान भएकाले आफूलाई बुबा रोमणिप्रसाद पाठकसँग नजोड्न उनले सबैलाई आग्रह गरे ।

आफ्ना भाइलाई मेयर गराउन कुनै विचार, सिद्धान्त र नीति नमिल्ने पार्टीसँग चुनावी तालमेल गरिएको उल्लेख गर्दै उनले कांग्रेसको तालमेल आमकार्यकर्ताको भावनाविपरीत रहेको बताए । ‘एउटा व्यक्तिको आदेशमा तालमेल भएको छ । यसलाई कार्यकर्ताहरुले रुचाएका छैनन् । कांग्रेस कसैको पुच्छर बनेर हिँड्ने पार्टी होइन । कुनै पनि नीति र सिद्धान्त नमिल्ने पार्टीसँग यहाँ कसरी तालमेल भयो ?’ आफू बीपीको सिद्धान्तअनुसार चलिरहेको बताउँदै उनले लोकतन्त्रमा जित÷हार स्वभाविक भए पनि आफ्ना भाइलाई जसरी पनि मेयर बनाउन गरिएको चुनावी तालमेललाई कार्यकर्ताले फेल गराउने बताए ।

उम्मेदवारी दिनबाट रोक्न आफूलाई कयौं दबाब, धम्की आएको उल्लेख गर्दै नेता पाठकले ती सबै दबाब र धम्कीलाई व्यवास्ता गर्दै पार्टीलाई जोगाउन आफूलेउम्मेवारी दिएको बताए । उनले पार्टीलाई शुद्धिकरण गराउने अभियानमा साथ दिन नेता कांग्रेसका नेता÷कार्यकर्तालाई आह्वान गरे । पार्टीको निर्णय भन्दैमा गलत कुरालाई मान्न नसकिने बताउँदै उनले पार्टीले गर्ने कारवाही भोग्न आफू तयार रहेको प्रष्टाए । विगतमा प्रदेश नं. ५ टुक्राउने पार्टीको निर्णय विरुद्ध आफू सबैभन्दा पहिले सडकमा उत्रिएको स्मरण गर्दै उनले आफूले अहिले कुनै लहड वा आवेगमा आएर अहिले विद्रोह नगरेको प्रष्टाए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.