बुटवल उपमहानगरका मेयर उम्मेदवार गलामीको स्वच्छ, सफा र हराभरा बुटवल बनाउने योजना

६ असार, २०७४ . बुटवल – नयाँ शक्ति, संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टीलगायत ७ दलको समर्थनमा बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका स्थानीय समाजसेवी होम बहादुर गलामीले बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त हराभरा सहर बनाउने बताउनुभएको छ ।
आफू राजनीतिक दलहरुको भड्किलो र रवाफयुक्त शैलीबाट दिक्क भएर नै विगत केही वर्षदेखि स्वतन्त्र बसेको बताउँदै दलहरुको विकासका नाउँमा कार्यकर्ता पोस्ने शैली र उच्छृंखल व्यवहारको विरोध गर्दै बुटवल उपमहानगरलाई सुशासन र सदाचारयुक्त नमूना सहरको रुपमा स्थापित गर्न आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।
‘यो ठाउँमा वास्तवमा दलहरुको चुनावी शैली र व्यवहार उत्छृंखल बन्दै गएको छ । विकासको नाममा कार्यकर्ता पोस्ने काम मात्र भएकोले यस्ता क्रियाकलापलाई अवरोध गर्नुपर्छ भनेरै मैले स्तवन्त्र उम्मेदवारी दिएको हुँ । समाजमा परिवर्तन, सुृशासन र सदाचार चाहने स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिकहरुको आग्रहमा मैले उम्मेदवारी दिएको हुँ’ बुटवल उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी गलामीले भन्नुभयो ।
‘बुटवलको मुख्य समस्या समाधानमा तपाईंको योजना के हो ?’ भन्ने जिज्ञासामा गलामीले भन्नुभयो – ‘बुटवलको मुख्य समस्याको रुपमा पार्किङको समस्या देखिएको छ । यसलाई समाधान गर्न विभिन्न स्थानमा ओभरहेड ब्रिज, सबवे, वानवेहरु बनाएर आवागमन सहज बनाउने तथा बजार क्षेत्र नजिक भएका संस्थागत जग्गाहरुमा ती संस्थाहरु र उपनगरपालिकाको समन्वयमा बहुतल्ले पार्किङ भवन बनाएर पार्किङको समस्या समाधान गर्नुपर्छ ।’
त्यसैगरी बुटवलको फोहोरमैला, खानेपानी, अव्यवस्थित सहरिकरण जस्ता समस्याहरुको पनि उचित समाधान गर्दै तिनाउ नदी क्षेत्रको अव्यवस्थित बसोबासलाई समाधान गर्न त्यहाँको जग्गालाई न्यून मूल्यांकन गरेर उनीहरुलाई जग्गाधनी बनाउने र त्यो आम्दानीले त्यही क्षेत्रको संरक्षणका लागि तिनाउ नदी क्षेत्रमा ठूलो तटबन्ध वा पर्खाल लगाउने उहाँको योजना रहेको बताउनुभयो ।
यहाँको शिक्षा क्षेत्रको समस्या समाधान गर्दै बुटवल बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा स्तरोन्नति गर्ने तथा लुम्बिनी अस्पताललाई शिक्षण अस्पतालको रुपमा संचालन गर्न पहल गर्ने समेतको योजना गलामीको रहेको छ । बुटवलको उत्तरी क्षेत्रका डाँडाकाँडामा जुन हरियाली छ त्यसको संरक्षण गर्दै भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मेरो योजना रहेको गलामीले बताउनुभएको छ ।

उपमेयर उम्मेदवार मञ्जुको प्रतिबद्धता
त्यसैगरी स्वतन्त्र तर्फकै उपमेयर पदकी उम्मेदवार मञ्जु खड्का (पार्वती)ले पार्टीभित्र हुने खिचातानी, कुर्सीको मोह अनि आफ्नै कार्यकर्तालाई पोस्नका लागि दलहरुले ध्यान दिएकै कारण आफू स्वतन्त्र रुपले उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले पार्टीका गतिविधिबाट सन्तुष्ट हुन नसकेकै कारण स्वतन्त्र रुपले उम्मेदवारी दिएको बताउनुभयो ।
बुटवल संभावना बोकेको सहर भएकोले भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै बुटवललाई औद्योगिक एवं व्यवसायिक नगरको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले महिला हिंसा अन्त्यका लागि महिलाहरुलाई विभिन्न सीपमूलक तालिमहरुको व्यवस्था गरी स्वरोजगार बनाउँदै महिला उद्यमशीलताको विकास गर्ने योजना रहेको बताउनुभयो ।
महिलाहरु घरायसी हिंसाबाट नै पीडित भएकोले महिलालाई हेर्ने दृष्टिकोण बदल्दै महिला र पुरुषले गर्ने श्रममाथिको पारिश्रमिक विभेदलाई हटाउने बताउनुभयो । त्यसैगरी उहाँले यहाँको खानेपानी, सरसफाई, फोहोरमैला व्यवस्थापन लगायतका समस्या समाधान गर्नेसमेत प्रतिबद्धता जनाउनुभएको छ ।

चुनावी घरदैलो जारी
नयाँ शक्ति पार्टीसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवलका विभिन्न वडाहरुमा घरदैलोसहितको चुनावी प्रचारलाई तीव्र बनाएको छ । घरदैलोकै क्रममा मंगलबार बिहान बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित दीपनगरमा घरदैलो सम्पन्न गरेको छ । यस वडामा नयाँ शक्तिका ज्ञानेन्द्र कुमार थापाको नेतृत्वमा कोपिला पुन, सुनिता खडलुक विक, केशव बहादुर पहारी तथा रीना नेपालीको संयुक्त प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र थापाले वडामा भइरहेका आर्थिक अनियमितता रोक्दै यहाँको बेरोजगारी, लागूऔषध दुव्र्यसनी, सामुदायिक वनको संरक्षण, आवास क्षेत्र वरिपरीका खुल्ला स्थानहरुमा बढ्दै गएको उच्छृंखल गतिविधि जस्ता समस्याहरु समाधान गर्नका लागि नै आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो ।
उहाँले यो वडा बुटवल उपमहानगरकै पुरानो बस्ती भइकन पनि यो अन्य वडाहरु भन्दा पछाडि परेको भन्दै यसको विकास र सहि व्यवस्थापन गर्दै यो वडालाई स्वच्छ, सफा एवं धुलो धुवाँमुक्त वडा बनाउने उद्देश्य रहेको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.