बुटवलको मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारलाई संयुक्त लोकतान्त्रिक मोर्चाको समर्थन

९ असार, २०७४ । नयाँ शक्ति पार्टीको नेतृत्वमा संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियानसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।
मोर्चाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी वैकल्पिक राजनीतिक धारको रुपमा स्वतन्त्र ढंगले चुनावी प्रतिस्पर्धामा उत्रने उम्मेदवारलाई समर्थन गर्ने बताएको हो । मोर्चाका संयोजक तथा नयाँ शक्ति पार्टीका केन्द्रीय कार्याकारी सदस्य बामदेव क्षेत्रीले ठूला भनिने राजनीतिक दलहरुको राजनीतिक खिचातानी, संस्थागत भ्रष्टाचार, राजनीतिक दम्भ र अहंकारबाट आजित भएका जनताले विकल्प खोजिरहेको बेला मोर्चाले दलीय विचार र आस्थाबाट माथि उठेर वैकल्पिक राजनीतिक संस्कार निर्माण गर्न चुनावी मोर्चा बनाएको बताउनुभयो ।
त्यसैगरी पत्रकार सम्मेलनमा मेयर पदका स्वतन्त्र उम्मेदवार होम बहादुर गलामीले पुराना पार्टीहरुको दलीय दम्भ र घमण्डलाई परास्त गर्नका लागि नै आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले मोर्चामा आवद्ध सबै दलहरु दलीय आस्था र विचारबाट माथि उठी बुटवल उपमहानगरको विकास र समृद्धिमा जुटे सुन्दर बुटवल बनाउने अभियानले सार्थकता पाउने बताउनुभयो ।
उपमेयर पदका स्वतन्त्र उम्मेदवार मञ्जु खड्काले ठूला पार्टीहरुको अराजक शैली र स्वार्थकेन्द्रीत सोचले नगरको विकास पछाडि परेको भन्दै सबै मिलेर नगरको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले महिलामाथि हुने विभेद र हिंसाको अन्त्य गरी महिला सशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाको मयेर पदका स्वतन्त्र उम्मेदवार गलामीले इस्टकोट चुनाव चिन्ह पाउनुभएको छ भने मोर्चा समर्थित उपमेयर पदकी स्वतन्त्र उम्मेदवार खड्काले भित्तेघडी चुनाव चिन्ह पाउनुभएको छ । मेयर र उपमेयरको अलवा मोर्चाले नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनाव चिन्ह एक हातले समातेको मसाल र अन्य दलका चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गर्दैछन् । पत्रकार सम्मेलन पश्चात मोर्चाले बुटवलमा संयुक्त चुनावी र्याली सम्पन्न गरेको छ ।
यसैबिच नयाँ शक्ति पार्टीको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नं. ८ मा उम्मेदवारी दिनुभएका ३० वर्षीय युवा सुरज हितान मगरले आफूले विजयी हासिल गरेको खण्डमा युवाहरुलाई सहि मार्गदर्शन दिने र उत्पादनमूलक तथा सिर्जनात्मक कार्यमा युवालाई परिचालन गर्ने बताउनुभएको छ । उहाँले वडामा व्यवसायिक लगानीको वातावरण सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने तथा नगरमा हुने प्रशासनिक सेवालाई छिटो छरितो बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र वडाको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.