पहिरोले गाडी बगाउँदा २ जना प्रहरीको मृत्यु,२ प्रहरी बेपत्ता

बुटवल , असार ७ । नारायणगढ-मुग्लिन सडकखण्डको चितवन कालीखोला नजिकै प्रहरी सवार भ्यान पहिरोले बगाउँदा २ जना प्रहरीको मृत्यु भएको छ भने थप २ प्रहरी बेपत्ता भएका छन । पहिरोले भ्यान बगाँउदा प्रहरीका हतियार पनि भेटिएका छैनन । इच्छाकामना गाउँपालिकाको कालीखोलामा गएको पहिरो पन्छाएर फर्किने क्रममा अर्को पहिरोले उनीहरु चढेको भ्यान बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोले बगाएर मृत्यु भएका मध्ये धादिङ जिल्ला खनिया गाउँपालिका–४ घर भएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र बारा जिल्लाको हरैया–६ घर भएका गाडीका चालक प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको छ ।
उनीहरुको शव सडकभन्दा तल नदीमाथि भिरमा फेला परेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले बताउनुभयो।
पहिरोमा परेका इलाका प्रहरी कार्यालय मुग्लिनका जवान सन्दीप कार्की र लीलाबहादुर चेपाङ भने बेपत्ता छन । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी तीव्रता दिएका छन् ।
कालिखोलाको पहिरोका कारण सडक समेत नियमित संचालनमा आउन सकेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.