खानेपानीको पहुँच र सहकार्य सहित गाँउको विकास मुख्य प्राथमिकता हो– काँग्रेस उम्मेदवार धातानन्द भण्डारी

बुटवल, असार ९ । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्वर १,५ र ७ चुनावी चटारो सवैतिर छ । ५ नम्वर प्रदेशको गुल्मीमा केन्द्रीय नेताहरु समेत मतदाता रिझाउन घरदैलोमा ब्यस्त छन । मतदाता आकर्षित गर्न पुरा हुने नहुने सवैखाले आश्वासन दिएर उम्मेदवारहरु लागिपरेका बेला गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर १ हुँगाका नेपाली काँग्रेसका उम्मेदवार धातानन्द भण्डारी भने राजनीतिक सहकार्य र गाँउको विकासका लागि सवैलाई समेटने लक्ष्य सहित चुनावी अभियानमा जुटेका छन ।

राजनीतिक चेतनाका हिसावले हुँगा गुल्मीकै अग्र स्थानमा पर्छ । गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीको जन्मगाउँ समेत रहेको हुँगामा मुख्य समस्या खानेपानीको हो । त्यसैले वडाध्यक्षका उम्मेदवार धातानन्द भण्डारीले एक घर एक धाराको अभियान अघि बढाउनुभएको छ ।

हुँगाको खानेपानी समस्या समाधान गर्न मैले एक घर एक धारा पुराउने प्रतिवद्धता जनाएको छु चाहे लिफ्टिङ सिस्टमवाट होस चाहे मुहानको पानी ल्याएर होस सवैलाई खानेपानीको ब्यवस्था मेरो पहिलो प्राथमिकता हो– भण्डारीले भन्नुभयो ।

यस्तै टोल र बस्तीमा सडक पुराउने तथा भएका सडकको स्तरोन्नती गर्ने उहाँको अर्को लक्ष्य छ । त्यस अन्तर्गत हुँगाका तीन क्षेत्रमा बन्दै गरेका पक्कीपुल सम्मको सडक स्तरोन्नती गर्नुपर्नेछ ।

“भेडुवा हुँदै हुँगादेखि सिस्ने मजुवा सडक अन्तर्गतको सिस्नेपुल,हुँगा हुँदै चोरकाटे जोड्ने पुल र हुँगा हुँदै उल्लीखोला जोड्ने पक्की पुल निर्माणका क्रममा छन । ती सडकलाई स्तरोन्नती गरिने छ″ उहाँले भन्नुभयो ।

यसैगरी हुँगाको जनजागृति उच्चमाविलाई क्याम्पस बनाउने,दलित तथा विपन्न परिवारका बालवालिकालाई खाजा र पोशाकको ब्यवस्था, कृषिलाई ब्यवसायिकरण गरेर बेरोजगार युवालाइ स्वरोजगार दिने, उत्पादित बस्तुको उचित मुल्य , विउविजन र औजारमा सहुलियत जस्ता किसान मैत्री योजना पनि उहाँसँग छन ।

यस्तै स्वास्थ्यलाई ब्यवस्थीत र टोलटोलमा सेवा दिने तथा बाझो जमिनको उपयोगलाई प्राथमिकता दिएर सिंचाइ सुविधा पुराउन सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि धातानन्द भण्डारीले अघि सार्नुभएको छ ।
मैले इमानदारिता पुर्वक गाउँमा गर्न सकिने र गर्नैपर्ने योजना अघि सारेको छु । मतदाता पनि सचेत र प्रतिवद्ध छन । त्यसैले आफुले जित्नेमा कुनै शंका नभएको उहाँको भनाइ छ ।

एमालेका तर्फबाट वडाध्यक्षमा यमलाल भण्डारी उम्मेदवार हुनुहुन्छ । उहाँले पनि खानेपानी,सडक विस्तार, कृषि तथा शिक्षा जस्ता बिषयलाई प्राथमिकता दिएर चुनावी अभियान अघि बढाउनुभएको छ ।

हुँगामा २६ सय भन्दा धेरै मतदाता छन । त्यसमा करिव १८ सय मत खस्ने अनुमान छ । हुँगामा काग्रेस र एमालेको मुख्य प्रतिष्प्रर्धा भएपनि काँग्रेसको मत बलियो छ । तर गुल्मी क्षेत्र नम्वर २ सांसद चन्द्र भण्डारीको गाँउमा काँग्रेसकै पाका नेता महेश्वर भण्डारी वागी उम्मेदवार हुँदा परिणाम के हुन्छ भन्नेमा आशंका गर्नेहरु पनि छन ।

तर काँग्रेसले बागी उम्मेदवार र तीनका प्रस्तावक र समर्थक समेतलाई कारवही गर्ने केन्द्रदेखि नै सर्कुलर गरेपछि महेश्वर भण्डारी मौन बस्ने निष्कर्षमा पुग्नुभएको छ । त्यसले काँग्रेसको मत खास तलमाथि नुहने दावी पनि छ ।

महेश्वर भण्डारी पुरानो नेता हुनुहुन्छ हामी अग्रजहरुलाई सम्मान गर्दै अघि बढ्छौ अहिले वागी उम्मेदवारी दिएपनि उहाँले गल्ति महसुस गरिसक्नु भएको छ त्यसैले हामीलाई कुनै समस्या हुन्न– काँग्रेस उम्मेदवार धातानन्द भण्डारीको भनाई छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.