बुटवल । असार ९ ।अरुलाई आचारसंहिता सिकाउने प्रमुख निर्वाचन आयुक्तन अयोधीप्रसाद यादवले खाजा खर्चबापत दिनको पाँच हजारसम्म खर्च गरेको विल पेश गरेर पैसा लिने र अफिसवाट खाजाका प्याकेट घरमा समेत लैजाने गरेको रहस्य खुलेको छ ।
राजधानीमा आफ्नै घर भएर पनि प्रमुख निर्वाचन आयुक्त यादवले आयोगबाट घरभाडा समेत लिदै आएको पनि खुलेको छ । श्रीमतीको नाममा घर रहेको भन्दै घरभाडा वापत राज्यकोषको पैसा लिने गरेका यादवले अहिले भएका गाडी छाडेर करोडौको नयाँ गाडीमा हुइकिने रहर गर्दा सोझा र इमान्दार छविका सचिवलाई पाखा लगाउन प्रधानमन्त्रीको बल नै लगाउन पुगेको पाइएको छ ।
निर्वाचन हुन एक साता मात्रै बाँकी रहँदा मन्त्रिपरिषदबाट बिहिवार सरुवा गरिएका निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले प्रमुख आयुक्त यादवले खाजा खर्चबापत दिनको पाँच हजारसम्म खर्च गरेको विल पेश गरेर पैसा लिने र अफिसवाट खाजका प्याकेट घरमा समेत लैजाने गरेको र आफुले त्यो काम गलत भएको भन्दै रोक्न खोजेकोले नै आफ्नो सरुवा गरिएको बताएका छन ।
यादव सहित आयुक्तहरुले भएका गाडी छाडेर करोडौका गाडी निर्वाचनको मौकामा किन्न खोज्दा पनि मैनालीले रोकेको बताइएको छ ।
यता प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सचिव सरुवा हुँदैमा दोस्रो चरणको चुनावमा कुनै असर नपर्ने बताउनुभएको छ ।
राजधानीमा शुक्रवार आयोजित साक्षत्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले सम्भावित प्रश्नहरु सोधिन सक्ने भएकोले आफ्नो कुरा राखेर बाहिरिनुभएको थियो । प्रश्न गर्न हात उठाएपनि यादव केही नवोलि बाहिरिनुभएको थियो ।