बुटवलमा एमालेको विशाल चुनावी सभा

cpn-uml huge sabhaa butwal

तराई र पहाडको विभाजन रोक्न एमालेलाई मतः अध्यक्ष ओली

बुटवल, असार ११ । एमालेले स्थानीय तहको चुनावको मौन अवधि सुरु हुनु अघिको अन्तिम चुनावी प्रचार सभा गरेको छ । विशाल जनसमुदायको सहभागीता रहेको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल, घनश्याम भुसाललगायतका नेताहरुले सम्बोधन गर्दै एमालेले चुनाव जित्ने कुरा मात्रै होइन देश बनाउने र समृद्धिको बाटो तय गर्ने कुरालाई प्राथमिकता दिएको बताउनु भएको छ ।
चर्को गर्मीको कुनै प्रवाह नगरी हजारौं बुटवलबासीहरु सभामा सहभागी थिए । उनीहरुलाई हौसला र उत्साह जगाउँदै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भने–चुनाव जित्ने कुरा भन्दा पनि देश बनाउने कुरालाई एमालेले प्राथमिकता दिएको बताउनु भयो ।
अध्यक्ष ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याए पनि एमालेको प्रतिकारका कारण त्यो प्रस्ताव स्थगन भएको बताउनुभयो ।
सम्बोधनको सुरुमै उपमहानगरपालिकाका एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदी र उपमेयर गोमा आचार्यलाई मञ्चमा माला लगाइदिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो विजयको माला हो, अब प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । यो माला कसैले फुकाल्न सक्दैन ।’ काँग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरेर सिङ्गो बुटवलको भविष्य डुबाइ दिनसक्नेतर्फ भने सचेत रहन अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।
उहाँले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले ‘२०४६ सालको आन्दोलनका बेला लण्डनका कुन गल्लीमा हल्लिँदै हुनुहुन्थ्यो,अहिले धाक लगाउने ?’ भनी सोध्दा देउवा रिसाए पनि यथार्थ भने त्यही हो भन्नुभयो । उहाँले प्रश्न गर्नुुभयो, ‘नेपाली काँग्रेसमा लोकतन्त्र र गणतन्त्रका लागि १४ वर्ष जेल बसेको नेता कोही छ ?’ मुलुकका लागि त्याग तपस्या गरेको कुनै नेता छ कांग्रेसमा ? अध्यक्ष ओलीको प्रश्न थियो ।
पूर्व पश्चिम विद्युतीय रेल निर्माण, ट्रान्समिसन लाइनको विस्तार, चार लेनको मध्यपहाडी राजमार्ग, हरेक प्रदेशका विश्वविद्यलाय, मेडिकल कलेज, अस्पताल र प्राविधिक कलेजका साथै रङ्गशालाको निर्माण एवं कला साहित्यको विकासका लागि एमालेको विशेष योजना रहेको वताउँदै अध्यक्ष ओलीले नेकपा (एमाले) मुलुकको विकासका लागि समर्पित छ भन्नुभयो ।
एमालेले विराटनगर, बुटवल, जनकपुर र वीरगञ्जलाई महानगरपालिका घोषणा गर्न आग्रह गरे पनि सरकारले अन्य ठाउँमा चुनाव हार्ने डरले विरानगरलाई मात्र महानगर घोषणा गरेकोमा आक्रोश व्यक्त गर्दै ओलीले एमालेले निर्वाचन जितेपछि ती बाँकी स्थानलाई पनि महानगर घोषणा गर्ने उद्घोष गर्नुभयो ।
सभामा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, घनश्याम भूषाललगायतका नेताहरुले  देश बनाउने जिम्मा एमालेको काँधमा आएको बताएका थिए । ‘बुटवलको मात्रै होइन समग्र मुलुककै विकास र समृद्धिका लागि एमालेले के के गर्छ भन्ने कुरा जहिले जहिले एमाले सरकारमा गएको छ त्यो बेलामा हेरे हुन्छ’ नेता पौडेलले भन्नुभयो ।
निर्वाचन परिचालन कमिटीका संयोजक तथा बुटवलका पूर्व मेयर भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेयरका एमाले उम्मेदवार शिवराज सुवेदी, उपमेयरका उम्मेदवार गोमा आचार्य, नेताहरु कमल गौतम, सावित्रा अर्याललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर संगठन कमिटीका संयोजक ऋषिराम पाण्डेले गरेका थिए ।
बुटवलमा मतदाता करिब ६७ हजार रहेका छन् । यहाँ १९ वटा वडाहरु छन् । एमालेले सबै वडामा आफ्नै उम्मेदवार उठाएको छ भने कांग्रेस–माओवादी–जनमुक्तिले भो विभिन्न तहमा तालमेल गरेका छन् ।
एमालेकै सभालाई लक्षित गरी बम !
यसैबीच एमालेको सभा चलिरहेको स्थानमा बम भेटिएका छन् । सभा चलिरहेको स्थानको पारितिर जेनेरेटर मुनी शंकास्पद झोला राखिएको देखेपछि सभामा सहभागी भएर फर्किन लागेकाहरुले सुरक्षाकर्मीले तत्कालै गरेका थिए । सुरक्षाकर्मीले झोलामा रहेको बमलाई निश्क्रिय पारेका थिए । यस्तै भैरहवास्थित सिद्धार्थ नगरपालिकाका उपमेयरका एमाले उम्मेदवार उमा काफ्लेको घरमा पनि पेट्रोल बम राखिएको थियो । सबै बमहरु सुरक्षाकर्मीले निश्क्रिया पारेकाले मानवीय क्षति हुन पाएन । यसअघि पनि एमाले उम्मेदवार ओमसतिया गाउँपालिकाका इन्द्रजीत यादवको घरमा पनि सकेट बम राखिएको थियो । भने एमालेकै बर्दघाट नगरपालिकाका मेयरका उम्मेदवार धिरज शर्माको घरमा बम राखिएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.