काठमाडौ । असार २७ । सरकारले प्रतिनिधिसभा निर्वाचनमा कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्ष चुनाव १ सिट प्राप्त गर्ने दललाई मात्र समानुपातिक तर्फको सिट पाउने व्यवस्था प्रस्ताव गर्दै निर्वाचन सम्वन्धि दुइवटा विधेयक संसदमा दर्ता गरेको छ ।
निर्वाचन आयोगले असार मसान्तभित्र निर्वाचन कानून चाहिने बताइरहेका बेला सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक संसद सचिवालयमा दर्ता गरेको हो ।
विधेयकमा मतदातालाई सबै उम्मेदवार अस्वीकार गर्ने अधिकार दिने प्रस्ताव समेत गरिएको छ ।
प्रतिनिधिसभामा ३ प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव गरिए पनि प्रदेशसभा निर्वाचन विधेयकमा भने कम्तीमा डेढ प्रतिशत मत ल्याउने दलले समानुपातिक तर्फको सिट पाउने ब्यवस्था राखिएको छ ।
नयाँ ब्यवस्था अनुसार केन्द्रीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ जना र एक सय १० जना समानुपातिक गरि २ सय ७५ सदस्य चुनिने छन । समानुपातिकतर्फ सिट प्राप्त गर्ने दलले समानुपातिक–समावेशी सिद्धान्तका आधार मा निश्चित बर्ग क्षेत्र र लिंगको प्रतिनिधि चयन गर्नुपर्ने अनिवार्य प्रस्ताव गरिएको छ ।