एनआईसी एशियाको शाखा विस्तार लुम्बिनी अञ्चलमा आफ्नो ५० पुर्याउने

बुटवल, साउन ४ । एनआईसी एशिया बैंक लिमिटेडले निकै आक्रामक रुपमा शाखा विस्तार गरेको छ । बैंकले सन् २०२० सम्ममा लुम्बिनी अञ्चलमा आफ्नो शाखा सञ्जाल ५० पुर्याउने जनाएको छ । अहिले लुम्बिनी अञ्चलमा १३ वटा शाखाहरु छन् । चालु आर्थिक वर्षमा लुम्बिनी अञ्चलमा २४ वटा नयाँ शाखा स्थापना गरिने बैंकका क्षेत्रीय प्रमुख तिलकसुन्दर कार्कीले जानकारी दिए । बैंकले लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये सबैभन्दा बढी शाखा रुपन्देहीमा हुने प्रष्टाएको छ । क्षेत्रीय प्रमुख कार्कीले रुपन्देही आर्थिक हव बन्दै गएकाले यहाँका ग्रामीण क्षेत्रहरुमा आफूहरुले बैंकको शाखा सञ्जाल विस्तार गरिरहेको बताए । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय प्रमुख कार्कीले विकास बैंकसमेत पुग्न नसकेका स्थानमा समेत एनआईसी एशियाले शाखा विस्तार गर्ने जानकारी दिए । ‘हामी गाउँ–गाउँमा शाखा लिएर जाँदैछौं ।’ उनले भने । भैरहवामा निर्माण भैरहेको अन्तर्राष्ट्रिय विमानस्थल, मोतिपुरमा बन्ने औद्योगिक करिडोर, बुटवलमा बन्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायतका विभिन्न पूर्वाधारका कारण रुपन्देही आर्थिक हव बन्दै गएको छ ।
‘यसैलाई लक्षित गरी रुपन्देहीमा शाखा विस्तारलाई हामीले तीव्र पारेका हौं ।’ उनले जनाए । अहिले बैंकको चुक्ता पुँजी ६ अर्ब ६९ करोड रहेको छ । यसमा गत आर्थिक बर्षको नाफाबाट बोनस शेयर वितरण पश्चात कुल चुक्ता पूँजी ८ अर्ब भन्दा बढि हुने पत्रकार सम्मेलनमा बैंकका अधिकृत राजनप्रसाद पोखरेलले जानकारी दिए । हालसम्म बैंकले ११९ शाखा कार्यालयहरु, ४ बाट एक्टेन्शन काउन्टर र ७० ए.टि.एम. बाट सेवा सुविधा प्रदान गरिरहेको छ । सन् २०२० सम्ममा कुल शाखा सञ्जाल ३०० भन्दा बढि, ४०० भन्दा बढि ए.टि.एम., २०० भन्दा बढि शाखा रहित बैंकिङ्ग सेवा, रेमिट्यान्स पेआउट एजेन्ट संख्या १०,००० भन्दा बढी र २,००० भन्दा बढि पि.ओ.एस. हुने लक्ष्य राखिएको उनले बताए । बैंकको हाल सम्मको कुल निक्षेप संकलन ८७ अर्ब रहेको छ भने कर्जा लगानी ७२ अर्ब ५० करोड भन्दा बढि रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.