राष्ट्रियतामा कालो बादल मडारिएको छ केसी

बुटवल, साउन ७ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकको राष्ट्रियतामा कालो बादल मडारिएको बताउँदै संविधान संशोधन प्रस्तावको पछाडी धेरै रहस्य रहेको जिकिर गर्नुभएको छ ।
मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गरी आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नभएको पनि बताउनु भयो । ‘जनसंख्याको आधारमा मात्रै संविधान संशोधन गरेर समस्या समाधान हुँदैन ।’ उहाँले भन्नुभयो–‘संशोधनका पछाडी धेरै रहस्यहरु छन् ।’ सबैलाई मान्य हुने संविधान बनाउने नाममा छिमेकीलाई मान्य हुने संविधान बनाउनकालागि संशोधन प्रस्ताव आएको उहाँले बताउनु भयो ।
प्रगतिशिल पत्रकार संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संविधान संशोधन गर्नुपर्छ भन्ने र गर्नुहुँदैन भन्ने विच संसद दुई भागमा विभाजित भएको उल्लेख गर्दै उहाँले अंगिकृत नागरिकलाई संवैधानिक अंगको प्रमुख बनाउने कुरा नेपाली जनतालाई स्वीकार्य नहुने बताउनु भयो ।
उहाँले संघीयतालाई आर्थिक हिसाले पार लगाउन धेरै गाह्रो भएको र अहिले स्थानीय तहमा दिएको अधिकार दिनलाई संघीयता आवश्यक नपर्ने भनाई राख्नुभयो । ‘संघियातालाई आर्थिक हिसावले पार लगाउन धेरै गाह्रो छ ।’ उहाँले भन्नुभयो–‘स्थानीय तहमा दिएको अधिकार दिनलाई संघीयता आवश्यक थिएन, यो अधिकार त यसै पनि दिन सकिन्थ्यो ।’
उहाँले साना दललाई संसदको ढोकाबाटै फर्काउने र ठूला तीन दलले सत्तामा रजाई गर्नकालागि थ्रेस होल्डको व्यबस्था ल्याईएको बताउँदै थ्रेस होल्ड पनि आफ्नो दललाई मान्य नभएको बताउनु भयो । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनमतलाई पैसाले प्रभाव पारिएकाले आफ्नो पार्टीको अपेक्षाकृत परिणाम नआएको उहाँले बताउनु भयो ।
संविधान कार्यान्वयनकालागि आगामी माघ भित्रमा तीन तहको निर्वाचन अपरिहार्य छ । उक्त समयसिमा भित्र बाँकी दुई तहको निर्वाचन गराउनकालागि सरकारलाई सबै पक्षबाट दवावको खाँचो उहाँले औल्याउनु भयो ।
उहांले हिन्दी भाषालाई कामकाजकिो भाषा बनाउने षडेयन्त्र भैरहेको बताउनुभयो ।
छिमेकीलाई मान्य हुने गरी संविधान बनाउने षडेयन्त्रले समस्या निम्ताएको उल्लेख गर्दै राजनीतिक दलले राष्ट्रियतालाई भन्दा सत्तालाई प्रमुख एजेण्डा बनाएकाले भष्ट्रचार र दण्डहिनता बढेको बताउनुभयो ।
उहांले समयमा नै प्रदेश र केन्द्रको चुनाव सम्पन्न गरेर गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्नुभयो ।
प्रगतिशील पत्रकार संघका रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र सचिव डिआर संघारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.