विद्युत् उपभोक्ता र प्रहरीबीच झडप

साउन १७, रुपन्देही । लोडसेडिङ अन्त्यको माग गर्दै आन्दोलनरत उपभोक्ता र प्रहरीबीच मंगलबार तिलोत्तमाको शंकरपुरमा झडप भएको छ । नेपाल विद्युत् प्राधिकरण नयाँमिल प्रशाखा कार्यालय घेराउ गर्ने क्रममा झडप भएको हो ।
बिद्युत प्रशाखामा तालाबन्दी गरेर सडक अबरुद्ध पार्ने क्रममा प्रहरीसँग आन्दोलनरत पक्षको झडप भएको थियो । झडपमा परी १३ जना प्रहरी र दर्जन बढी उपभोक्ता घाइते भएका छन् । घाइते मध्ये एक जना प्रहरीको अवस्था गम्भिर रहेको जनाइएको छ ।
करिब २० मिनेटजति आन्दोलनरत उपभोक्ता र प्रहरीबिच झडप भएको थियो । प्रहरीले भिडलाई तितरबितर पार्न ३ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ । त्यसक्रममा ३ वटा सवारी साधन तोडफोड भएका छन् । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । आन्दोलनरत बिद्युत् उपभोक्ताले विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुखलाई झिकाउन माग गर्दै सडक बन्द गराएका थिए । त्यसैक्रममा प्रहरीले बल प्रयोग गरि सडक खुलाउने क्रममा झडप भएको हो ।

पटक–पटक बिजुली काटिएको विरोधमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । केही समययता तिलोत्तमा नगरपालिकामा भरौलिया सव–स्टेशनबाट वितरित विद्युत् नियमित छैन । सोमबार उपभोक्ताले भरौलिया सब स्टेशनबाट बितरण हुने लाइन बन्द गराएका थिए । लोडसेडिङको नाममा नागरिकलाई सास्ती दिएको र पटक–पटक लाइन काटिएको भन्दै स्थानिय बासिन्दाले भरौलिया सब स्टेशन घेराउ समेत गरेका थिए ।
कान्छिबजार, सेमराबजार, कानपारालगायतका स्थानका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका हुन् । कहिले लोडसेडिङ, कहिले सिष्टम बिग्रिएको नाममा अघोषित रुपमा पटक–पटक लाइन काटिएपछि नागरिक आक्रोसित बनेका हुन् । लोडसेडिङको समय बाहेक अरु बेला दिइएको विद्युत् समेत गुणस्तरीय नभएको उपभोक्ताहरु बताउँछन् । आन्दोलनमा उत्रिएका उपभोक्ताले सोमबार भरौलिया सव–स्टेशन झण्डै २४ घण्टा बन्द गराएको भैरहवा वितरण केन्द्रका प्रमुख ठाकुरले बताए । सोमबार सव–स्टेशन बन्द गराएका उपभोक्ताले मंगलबार थप दबाब दिन भन्दै विद्युत्को प्रशाखा कार्यालय घेराउ गर्ने क्रममा झडप भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.