काठमाडौ । साउन १७ । निर्वाचन आयोगले माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा यही साउन २० गते शुक्रबार पुनः मतदान गर्न मिति तोकेर बुधवारदेखि प्रचारप्रसार गर्न समेत निषेध गरेको छ ।
चितवनमा मंगलवार भएको सर्वदलीय बैठकमा काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु साउन २० गते पुनः मतदान गराउन सहमति भएपछि मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानको मिति तोकेको हो ।
निर्वाचन तालिका अनुसार बुधवारबाट मौन अवधी सुरु हुने छ ।
गत बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाको क्रममा गत जेठ १४ गते राति माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरको मत परिणाम अनिश्चित बनेको थियो । त्यसपछि निर्वाचन आयोगले पुनः मतदानको आदेश दिएपछि एमाले कार्यकर्ताले जनमतको अपमान भएको र च्यातिएका मत बदर गरेर मतगणना हुनुपर्ने भन्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्च अदालतको फैसलाले निर्वाचन आयोगकै निर्णयलाई सदर गरि पुनःमतदान गर्न आदेश दिएको हो ।
भरतपुरमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालले चुनाव हार्ने करिव निश्चित भएपछि मतपत्र च्यातेका थिए ।