उद्योगी व्यवसायीको भेला आर्थिक विकासका प्रष्ट खाका बनाउन आग्रह

 

 

बुटवल, साउन २१ । यहाँका उद्योगी, व्यवसायी तथा अगुवाहरुले विश्व पर्यटनको
केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र आर्थिक विकासको प्रष्ट
खाका बनाउन एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टी निकटका उद्योगी व्यवसायीहरुको शनिबार बुटवलमा भएको बृहत्त भेलामा
सहभागी अगुवाहरुले समृद्धिको अभियानमा सहकार्य गर्न आफुहरु तयार रहेको बताए
। बुटवललाई प्रदेशको आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्न जरुरी
रहेको भन्दै एमाले निकटका ती उद्योगी–व्यवसायीहरुको साझा भनाइ थियो ।
स्थानीय तहको चुनाव सकिएपछि त्यसको समीक्षा गर्ने गरी नेकपा एमालेको उद्योग
व्यवसाय विभागले बुटवलस्थित प्रदेश कमिटीको कार्यालय पुष्पलाल भवनमा यस
क्षेत्रका उद्योगी व्यवसायीका अगुवाहरुको बृहत् भेलाको आयोजना गरेको थियो
चुनावमा उद्योगी व्यवसायीहरुले गरेको योगदान र सहयोगप्रति आभार प्रकट
गर्दै पार्टीका नेताहरुले अबका प्रदेश र केन्द्रको चुनावमा पनि यसैगरी सहयोग
गर्न आग्रह गरेका थिए ।
उद्योगी व्यवसायीहरुले कर नीति प्रष्ट बनाउन, राजस्व सम्बन्धी अनेकौं
झन्झटहरुको समाधान गर्न, लगानी मैत्री वातावरण बनाउन र सुरक्षाको पूर्ण
प्रत्याभूति गराउने तर्फ स्थानीयदेखि केन्द्र सरकारसम्मको ध्यान जान जरुरी
रहेकोमा जोड दिएका थिए ।
उनीहरुले व्यवसायीहरु असुरक्षित रहेको, लगानीको उचित वातावरण बन्न नसकेको
र व्यवसायी माथि भएका गोली प्रहारका आक्रमणका घटनाले त्रसित बनाएको
गुनासो गरेका थिए । स्थानीय तहको सरकारले लगानीमैत्री वातावरण बनाउँदै
उत्पादनका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उद्योगी व्यवसायीहरुको माग थियो ।
उद्योगी व्यवसायीहरुको वृहत् भेलामा सहभागीहरुले आर्थिक रुपले सबल र पर्यटकीय
केन्द्रका रुपमा लुम्बिनीको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले उप–महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले
आर्थिक सबलीकरणका लागि उचित वातावरण बनाउने तर्फ स्थानीय सरकारलाई
पार्टीले निर्देशन दिइसकेको बताए । उनले हरेक क्षेत्रका उद्योगी, व्यवसायीहरुका
समस्याहरुलाई समाधान गर्ने, लगानीको वातावरण बनाउने, जनताको असली सेवक
बनेर काम गर्ने देखि सबल र समुन्नत स्थानीय सरकार निर्माण गर्ने गरी उपयुक्त र
प्रभावकारी कामहरु गर्न स्थानीय सरकारमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई
विशेष प्रशिक्षण समेत दिइएको उनले बताए ।
मोतिपुरमा बन्न लागेको नयाँ औद्योगिक क्षेत्र विशेषखालको र आधुनिक
स्तरको हुने उल्लेख गर्दै नेता पौडेलले त्यसका लागि आवश्यक प्रक्रिया र काम
अगाडि बढिसकेको बताए । नेता पौडेल अर्थमन्त्री रहेका बेलामा मोतिपुर
औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको थियो । केही उद्योगी
व्यवसायीहरुले पहल गर्दै बजेटलगायतको माग गरिरहेका बेला पौडेल अर्थमन्त्री
बनेका बेलामा बजेटको व्यवस्था, जग्गा प्राप्ति र योजना निर्माणका लागि
बजेटलगायतका कामहरु सम्पन्न भएका थिए ।
उपमहासचिव तथा पूर्व अर्थमन्त्री पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र
जिल्ला नै विकासको रोलमोडल बनाउने काममा एमाले जुटेको बताए । उनी
अर्थमन्त्री भएका बेलामा रुपन्देहीमा राष्ट्रिय गौरवका धेरै आयोजनाहरु छनौट
भएका छन भने बजेट पनि प्रयाप्त परेको छ ।
विकास निर्माणका हिसाबले सुरु भएका कामहरुको अवस्थाका बारेमा र अब गर्नुपर्ने
कामहरुको सूची बनाइएको उल्लेख गर्दै नेता पौडेलले बुटवललाई मात्रै होइन
समग्र लुम्बिनीलाई ध्यानमा राखेर एमाले अग्रसर भएको बताए । त्यो आफू
अर्थमन्त्री हुँदा छुट्टाएको बजेट र नीति तथा कार्यक्रमलाई हेरेर मूल्यांकन
गर्न सकिने पनि उनले बताए । उद्योग, पर्यटन, होटल, व्यापार र यातायातलगायतका
विभिन्न क्षेत्रका संगठनका अगुवाहरुले सुझाव दिएका थिए ।
उद्योग व्यवसाय विभागका संयोजकसमेत रहेका एमाले रुपन्देहीका काबा सचिव
गोपाल रानाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एकराज
विश्वकर्मा, एमाले प्रदेश कमिटीका सदस्य गोपाल भट्टराई, केन्द्रीय विभागका सदस्य
बाबुराम भट्टराई, बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदी, कावा अध्यक्ष
पुरुषोत्तम घिमिरे, महिला नेतृ सावित्रा अर्याल, बिमला पन्थी, नन्दीकेशर ढकाल,
जिल्ला सदस्यहरु नारायणप्रसाद भट्टराई, युवाराज घिमिरेलगायतले लगानीको उचित
वातावरण बनाउँदै उद्योगी व्यवासायीहरुका समस्या समाधानका लागि आफूहरु गम्भीर
भएर लाग्ने बताएका थिए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरु उद्योगी कृष्णकुमार श्रेष्ठ, रुपन्देही उद्योग संघका
अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष टंकप्रसाद
पोखरेल, नेपाल उद्योग तथा व्यवसायी महासंघका प्रदेश सचिव केशब पन्थी,
उद्योगीहरु सतिषचन्द्र कसौधन, यातायात व्यवसायी सूर्यबहादुर भट्टराई, नेपाल
उद्योग संघका अध्यक्ष सुनिल श्रेष्ठ, दुग्ध व्यवसायी संघका मेघराज भण्डारी, बेकरी
व्यवसायी संघका बाबुराम बोहोरा, मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद
पौडेल, फर्निचर उद्योग संघका माधव पौडेललगायतले बोल्दै औद्योगिक क्षेत्रका
समस्या समाधानका लागि सामूहिक पहल जरुरी रहेको बताएका थिए ।
त्यसैगरी उद्योगी तथा व्यवसायीहरु कृष्ण पराजुली, होटल तथा रेष्टुरेन्ट
व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, सैनामैना व्यापार संघका अध्यक्ष दुर्गा
गौतम, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, बैंकर्सका तर्फबाट
थानेश्वर पौडेल, निर्माण सम्बद्ध व्यवसायी संघका शोभाकान्त पाण्डे, सुनचाँदी
व्यवसायी संघका हरि विश्वकर्मा, औषधि व्यवसायी संघका शिव ज्ञवाली, स्टेशनरी
व्यवसायी कृष्ण पाण्डे, औद्योगिक क्षेत्र उद्योग संघका रामबहादुर गुरुङ र
निर्माण व्यवसायी जविन कक्षपतिलगायतले बोलेका थिए ।
उद्योगी व्यवसायीहरुले घरबहाल करदेखि पर्यटन क्षेत्रका समस्या समाधानका लागि
पार्टी नेतृत्वलाई दिएका लिखित सुझावहरुलाई स्मरण पनि गराएका थिए ।
लगानीको उचित वातावरण बनाउनुपर्ने, सेवामुलक र निर्यातजन्य उत्पादनमा रहेका
उद्योगहरुलाई विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव थियो
। सार्वजनिक यातायात, पर्यटन व्यवसाय र स्वास्थ्यको क्षेत्रमा विशेष योजना
बनाउन जरुरी रहेको उद्योगी व्यवसायीहरुले सुझाव दिए । एमाले रुपन्देहीका कावा
सचिव तथा उद्योग व्यवसायी विभागका प्रमुख गोपाल रानाको अध्यक्षतामा भएको
कार्यक्रममा उद्योगी कृष्णकुमार श्रेष्ठले स्वागत र एमाले बुटवल नगर संगठन
कमिटीका संयोजक ऋषिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
(((((((((((((((((((((((

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.