बुटवल । साउन २२ । सडक बनाउन खनेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर रौतहटमा शनिवार चार जना बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै गरुडामा बाटोमा शव राखेर प्रदर्शन गरिरहेका छन् ।
यसैबीच गृहमन्त्रालयका प्रवत्ता दिपक काफ्लेले घटनाका बारेमा स्थलगत अनुसन्धान गरी तत्काल गृहमन्त्रालयमा प्रतिवेदन पठाउन रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिनुभएको छ ।
रौतहटको गरुडा नगरपालिकास्थित सडक पेटीमा सडक बनाउन खनेको खाल्डोमा जमेको पानीमा चार जना बालिकाको डुबेर शनिवार दिउँसो मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय रामएकवाल साहकी १२ वर्षाया छोरी संगिता कुमारी साह, ९ वषिर्या सुनिता कुमारी साह, जोगेन्द्र साहकी ९ वषिर्या छोरी सुनैना कुमारी साह र प्रेम साहकी ९ वषिर्या छोरी सुस्मिताकुमारी साह रहेको प्रहरीले जनाएको छ ।
सडक निर्माणको काम सकेपछि उक्त खाल्डो नपुर्दा खाल्डोमा भरिएको पानीमा डुबेर चारै जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलले जानकारी दिनुभयो ।
बालिकाहरु घाँस लिएर फर्किने क्रममा सबैतिर उस्तै पानी देखेर पार गर्न खोज्दा एकै पटक चारैजनाको खाल्टोमा परी डुबेर मृत्यु भएको हो । बालिकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।