पत्रकार महासंघको २५ औं महाधिवेशन –चौतारी,युनियन र सेन्टरबीच समिकरणको सकस

बुटवल । साउन २३ । नेपाल पत्रकार महासंघको महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुदैंछ । नयाँ नेतृत्व समेत चयन गर्ने यो महाधिवेशन आउन अव दुइ साता बाँकी छ । महाधिवेशनबारे अहिलेसम्म औपचारिक बहस र छलफल भएको छैन । तर पत्रकारका संगठनहरु आगामी चुनाव कसरी आफ्नो पक्षमा पार्ने भन्ने रणनीति बनाउन मै ब्यस्त देखिएका छन । मुख भने कसैले खोलेका छैनन ।
सवैभन्दा धेरै पार्षद भएको एमाले निकट प्रेस चौतारी, दोश्रो स्थानमा रहेको काँग्रेस निकट प्रेस युनियन र तेश्रो माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच नेतृत्वको घम्साघम्सी चलिरहेकोले अहिलेसम्म कोही खुलेर अघि बढ्न सकेका छैनन ।
कसका पार्षद कति ?
झण्डै १३ सय जति पार्षद् भएको महासंघमा चौतारीले ५ सय ५० भन्दा माथि, युनियनले झण्डै ५ सय तथा सेन्टरले झण्डै ३ सय पार्षद आफ्ना रहेको दावी गरेका छन ।
त्यसबाहेक नेकपा माओवादीको बैद्य समुहको क्रान्तिकारी पत्रकार महासंघले, नेत्रविक्रम चन्द समुहको क्रान्तिकारी पत्रकार संगठन, नयाँ शक्तिको प्रेस सोसाइटी,जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघ,राप्रपा निकट मिडिया सोसाइटी,मधेश केन्द्रित दल निकटका सहित पत्रकार संघसंस्थाले पनि आआफ्नै दावी गरेका छन । समग्रमा यिनका पनि १ सय ५० भन्दा माथि पार्षद रहेको देखिन्छ ।

सेन्टर निर्णायक !
यो हिसावले सेन्टरले जता समर्थन गर्छ उतै नेतृत्व पल्लाभारी हुने देखिन्छ । त्यसैले चौतारी र युनियन दुवै संगठन सेन्टरसँग समिकरण गर्ने कसरतमा छन । तर सेन्टरले मुख नखोल्दा यसै हुन्छ भन्ने अवस्था छैन । ठुला तीन संगठनबीचको जोखनाले साना संगठनहरु अलमलमा छन ।
आआफ्नै दाउ
प्रेस चौतारी आफ्नो बर्चस्व कायमै राख्न प्रयास गरिरहेको छ । यस्तै युनियन जसरी हुन्छ चौतारीलाई हटाएर महासंघमा पुग्ने र इतिहास फर्काउन सकेको प्रयत्न गरिरहेको छ ।
समिकरणको सकसकै कारण समय घर्किदैँ जाँदा पनि निर्वाचनमा कुन संगठन कसरी जाँदैछन भन्ने प्रष्ट भैसकेको छैन । तीनवटै संगठनबीच दुइ पक्षिय र बहुपक्षिय कुराकानी समेत भएको छ । एक चरण त सवै मिलेर जाने भन्नेबारे पनि कुरा भएको थियो । तर त्यो केवल भन्नका लागि मात्रै थियो र भयो पनि त्यही ।
अहिले एकाथरीले भन्ने गरेका छन की– पुरानो सहमति अनुसार चौतारी र सेन्टर अन्तिममा मिल्छन । त्यहा पनि दुइ खाले अनुमान छ । एकाथरी पुरानो सहमति बमोजिम सेन्टरलाई अध्यक्ष दिएर अरु नेतृत्व लिनेगरि कुरा मिल्छ भन्छन भने अर्काथरी अध्यक्ष आफै लिएर सहमति गर्नुपर्छ ।
यस्तै अवस्था युनियनमा पनि छ । सत्ता साझेदार दलहरु भएकाले पार्टीले युनियन र सेन्टरलाइ मिलाउँछ भन्नेहरुको मत बाक्लै छ । जसरी हुन्छ चौतारीलाई बाहिर राख्न सेन्टरले जे भन्छ मानेर जानुपर्ने भन्ने पक्ष र आफैले नेतृत्व लिएर सेन्टरलाई सँगै लाने भन्ने पक्षबीच युनियनमा विवाद छ ।
जे भएपनि अहिले सेन्टर निर्णायक देखिएको छ । तर त्यहा पनि विवाद छ । महेश्वर दाहालहरु युनियनसँग मिल्ने पक्षमा र गोविन्द आचार्यहरु चौतारीसँग मिल्ने पक्षमा देखिन्छन । यसरी सेन्टर जता जीत उतै हुने सम्भावना बलियो छ ।
तर सेन्टर सँग युनियन वा चौतारी जो मिले पनि अर्को पक्ष सवै साना समुहहरुसँग गठबन्धन गरेर जाँदा पनि जित्न सकिने आकलन गरेर बसेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.