तिलोत्तमामा प्रस्तावित सरकारी मेडिकल कलेज , त्रिवि रजिष्टार नेतृत्वको टोलीद्वारा जग्गा निरीक्षण, जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल

बीपी गौतम
बुटवल, साउन । सरकारी स्तरको मेडिकल कलेज स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रमा छुट्टाइएको जग्गाको त्रिभुवन विश्वविद्यालयको एक टोलीले निरीक्षण गरेको छ । विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतीको नेतृत्वमा आएको टोलीले मेडिकल कलेजका लागि छुट्टाइएको तिलोत्तमा वडा नं. १ र ८ को जग्गा निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा सो टोलीले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल समेत गरेको छ । सरकारले ‘एक प्रदेश, एक सरकारी मेडिकल कलेज’ नीतिअनुसार प्रदेश नं. ५ को मेडिकल कलेज तिलोत्तमा नगरपालिकामा बनाउने प्रक्रिया अघि बढाएको हो । सरकारले तिलोत्तमा नगरपालिका वडा नं. १ मा पर्ने शंकरनगर सामुदायिक वन र वडा नं. ८ मा पर्ने करहिया सामुदायिक वनको दुई सय बिगाहा जग्गा मेडिकल कलेजका लागि छुट्याएको छ ।
निरीक्षण टोलीले त्रिभुवन विश्वविद्यालयको सिनेटपछि मेडिकल कलेजको डिपीआरलगायतका काम अघि बढ्ने जानकारी स्थानीय सरोकारवालाहरुलाई गराएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको सिनेट यही साउन २८ गते बस्दैछ ।
निरीक्षणमा विश्वविद्यालयको टोलीसँगै बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख कार्यकारी अधिकृत मोहन पौडेल, तिलोत्तमा वडा नं. १ का अध्यक्ष तामनाथ पाण्डे, वडा नं. ८ का अध्यक्ष कृष्ण पौडेल, रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, शंकरनगर र करहिया सामुदायिक वनका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
छलफलका क्रममा आफूहरुले सरकारी मेडिकल कलेज यस क्षेत्रका बासिन्दाका लागि बहुप्रतिक्षित रहेकाले यथाशीघ्र निर्माणको काम अघि बढाउन विश्वविद्यालयको टोलीलाई आग्रह गरेको तिलोत्तमा नगरप्रमुख घिमिरेले बताए ।
जनप्रतिनिधिहरुले मेडिकल कलेज निर्माणका सन्दर्भमा सबैको सहमति रहेको जानकारी विश्वविद्यालयको टोलीलाई गराएका थिए । बुटवल उप–महानगरपालिकाका प्रमुख सुवेदीले मेडिकल कलेज तिलोत्तमामा बन्ने भए पनि यसका लागि बुटवल उप–महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने बताए । मेडिकल कलेज समग्रमा रुपन्देहीबासीकैं प्रतिष्ठाको विषय भएको उनले जनाए । विश्वविद्यालयका रजिष्टार उप्रेतीले यस वर्ष मेडिकल कलेजको कामका लागि एक करोड बजेट विनियोजन भएको जानकारी स्थानीय सरोकारवालाहरुलाई गराएको तिलोत्तमा नगरप्रमुख घिमिरेले जानकारी दिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको काम सुरु गरेको थियो । गौतमबुद्ध मेडिकल कलेजको नाम दिइएको यो त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रूपमा स्थापना हुनेछ । कलेज निर्माणका लागि वरिष्ठ चिकित्सक प्राध्यापक डा. सरोज प्रसाद ओझा संयोजक रहेको प्रारम्भिक समितिले सरकारी स्तरको मेडिकल कलेजका लागि प्रस्ताव गरिएको जग्गा उपयुक्त रहेको ठहर गर्दै गत असोजमै शिक्षा मन्त्रालयमा प्रतिवेदन समेत बुझाइसकेको छ ।
प्रक्रिया सुरु भैसकेको अवस्थामा मेडिकल कलेज कहिले बन्ला बन्ला भन्ने उत्सुकता आमतिलोत्तमाबासीमा छ । उनीहरु मेडिकल कलेज शीघ्र स्थापनाको प्रतीक्षामा छन् । स्थानीय तह निर्वाचनमा तिलोत्तमाबासीले मेडिकल कलेज निर्माणको कामलाई छिटोभन्दा छिटो पूरा गराउन उम्मेदवारसँग माग गरेका थिए । स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले सरकारी मेडिकल कलेजलाई आफ्नो प्रतिबद्धतापत्रमा विशेष महत्व दिएका थिए ।
आफ्नो पार्टी नेतृत्वको सरकारले निर्णय गरेकाले एमालेले स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्रमा तिलोत्तमामा बन्ने भनिएको मेडिकल कलेजलाई प्राथमिकतामा राखेको थियो । ‘एमाले सरकारको पालामा नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा उल्लेख गरी सम्भाव्यता अध्ययन गरिसकेको ५ नं. प्रदेशअन्तर्गतको मेडिकल कलेज तिलोत्तमा नपा वडा नं. १ र ८ को सीमानामा स्थापना गरी यसको सञ्चालनमा नेपाल सरकारसँग जिम्मेवारीपूर्वक आवश्यक समन्वय एवं सहयोगका लागि पहल गरिनेछ ।’ एमाले तिलोत्तमाको घोषणापत्रमा भनिएको छ । मेडिकल कलेजलाई बजेटमा पारेका एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल तिलोत्तमामा बन्ने मेडिकल कलेजलाई भावी दिनमा मुलुककैं मेडिकल विश्वविद्यालको रुपमा रुपान्तरण गर्नुपर्ने बताउँछन

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.