काठमाडौंमा दश बर्षसम्म मेडिकल कलेज खोल्न नपाउने तथा मापदण्ड पुगेकालाई सम्वन्धन दिन सकिने व्यवस्था राखेर चिकित्सा शिक्षा विधेयक समितिवाट पारित

काठमाडौ । साउन २७ । काठमाडौं उपत्यकामा दश बर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने तथा मापदण्ड पुगेका मेडिकल कलेजहरुलाई सम्वन्धन दिन सकिने व्यवस्था राखेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्वन्धित समितिवाट पारित भएको छ ।

समितिले पारित गरेको विधेयकलाई संसदले पारित गरेपछि कानूनी मान्यता सहित कार्यान्वयनमा आउने छ । डाक्टर गोविन्द केसीले छिटो पारित गर्न माग गर्दै अनसनमा बसिरहेका बेला संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको शुक्रवारको बैठकले बहुचर्चित र विवादास्पद चिकित्सा शिक्षा विधेयकलाई पारित गरेको हो ।

विधेयकमा नीजि अस्पताल पुर्णरुपमा संचालन भएको ३ बर्ष पछि मात्रै मेडिकलको सम्वन्धन लिन आवेदन दिन सकिने र मापदण्ड पुगेका कलेजहरुलाई सम्वन्धन दिन सकिने प्रस्ताव गरिएको छ । विधेयकमा छात्रवृतिको व्यवस्था पनि राखिएको छ ।

प्रस्तावनामा नै माथेमा आयोगको भावना र मर्मलाई समावेश गर्ने उल्लेख गर्दै अन्तिम रुप दिइएको विधेयकमा नयाँ सम्वन्धन प्राप्तिका लागी स्वास्थ्य मन्त्रालय र आयोगले तोकेको मापदण्ड पुरा गर्नुपर्ने ब्यवस्था गरिएको छ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले विधेयकलाई समितिले पारित गरेपछि डाक्टर गोविन्द केसीका माग संवोधन हुने विश्वास सरकारले लिएको बताउनुभयो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीको माग सम्वोधनका वारेमा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेल र दुवै पक्षका वार्ता टोलीसंग छलफल गर्नुभएको थियो ।

उता डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बनिसक्दा समेत राज्यले वेवास्ता गरेको भन्दै सरकारी चिकित्सक संघ नेपाल, रेजिडेन्ट एसोसिएसन अफ नेपाल ‘नेम्स’ र डक्टर सोसाइटी अफ नेपालको आह्वानमा शुक्रवार सरकारी अस्पतालमा आकस्मिक बाहेकका सवै ठप्प पारियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.