बुटवल । साउन २९ । चार दिन देखिको भीषण वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर देशभर तीन दर्जन भन्दा बढीको मृत्यु भएको छ भने त्यति संख्यामा सर्वसाधारण बेपत्ता भएका छन । वर्षाबाट ३१ हजार घर डुवानमा परेका छन् ।
बाढी र पहिरोमा सनुसरी, झापा, मोरङ, सिन्धुली, बाँके, पाँचथर, सर्लाही, बारा, दाङ, पाल्पा, बर्दिया, मकवानपुर जिल्लामा ३५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
वाढी पहिरोले क्षति पुगेपछि संचार सम्पर्क र विद्युत सेवा पनि बन्द भएको छ । जसका कारण सुचना संकलनमा पनि कठिनाइ भएको छ । बाढीले अधिकांश सडक र पुलहरु क्षतिग्रस्त भएपछि अधिकांश गाउँहरुसंगको सम्बन्ध टुटेको छ । बिजुलीका अधिकांश पोलहरु ढलेकाले बत्ति र टेलिफोन सेवाहरुसमेत अवरुद्ध भएका छन् ।
लगातारको वर्षाका कारण तराइका नदीहरुमा पानीको बहाव बढ्दै गएको छ भने पानी पर्ने क्रम केहि क्षेत्रमा झन बढेको छ । सरकारले प्रतिकूल मौसमका कारण राहत तथा उद्धारमा कठिनाइ भइरहेको बताएको छ । बर्दिया र बाँके क्षेत्रको निरिक्षण गर्न पुग्नुभएका गृहमन्त्री जनार्दन शर्माले सरकारले सक्दो उद्दार र राहतको काम गरिरहेको बताउनुभएको छ ।
अविरल वर्षासंगैको वाढीले सवैभन्दा बढी डुवान र क्षति मध्य पश्चिम क्षेत्र र पुर्वी क्षेत्रमा भएको छ । बर्दियमा सवैभन्दा बढी डुवान भएको छ । राप्ती र बबई नदी तटीय क्षेत्रका ९० प्रतिशत भू-भाग डुवानमा परेका छन ।
यस्तै पुर्वको कन्काई, कोशी, क्षेत्रमा आएको बाढीले तटिय क्षेत्र उच्च जोखिममा परेको छ ।
यसैगरी बाढीले पूर्वपश्चिम राजमार्गका दुईवटा पुल भत्काउँदा दुई दिनदेखि यातायात अबरुद्ध भएको छ र सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
उद्धारका लागि काठमाडौंबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रभावित जिल्लामा खटाईएको छ । तर निरन्तर पानी परेकाले हेलिकप्टरबाट उद्धार गर्न पनि कठिन भएको बताइएको छ ।
बर्दिया जिल्लामा डुवानका कारण ५ हजार स्थानीय विस्थापित भएका छन् । विस्थापितहरु अग्लो स्थानका विद्यालय र बढीबाट बच्न बनाइएका आश्रयस्थलमा बसेका छन् ।
बबईले खतराको सूचक नाघेर बगिरहेको छ ।यस्तै बाढीले नेपालगञ्ज गुलरिया सडक खण्ड अवरोध हुन पुगेको छ । बाढीले बर्दियाको वारबर्दिया र ठाकुरद्वाराको तटीय क्षेत्रका अधिकांश मानिस विस्थापित भएका हुन् ।
यसैगरी बाढीले डुवान भएपछि मोरङ र सुनसरी तथा झापाको जनजीवन पनि प्रभावित भएको छ । सप्तरीमा सञ्चारसम्पर्क समेत विच्छेद भएको छ । बाढीले चितवनको पर्यटकीय नगरी सौराह र माडी क्षेत्र डुवानमा परेको छ ।
निरन्तर परेको वर्षाका कारण बाढी र पहिरोमा परी मकवानपुरमा १० जना वेपत्ता भएका छन् ।
नवलपरासीको वर्दघाट क्षेत्र डुवानमा परेको छ भने दाउन्नेमा सडक भत्किदा राजमार्ग अवरुद्ध छ । नारायणगढ मग्लिन खण्ड पनि अवरुद्ध छ । तस्विर– राजेश झा ।