संविधान दोस्रो संशोधन विधेयक बहुमतले अस्वीकृत

बुटवल । भाद्र ५ । ब्यवस्थापिका संसदले नेपालको संविधान दोस्रो संशोधन विधेयक बहुमतले अस्वीकृत गरेको छ ।

संसदको बैठकमा निर्णयार्थ प्रस्तुत भएको विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेको छ । बैठकमा उपस्थित ५ सय ५३ जना सांसद मध्ये २ सय ६ जनाले बिपक्षमा मतदान गरेका थिए ।

सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत दलहरुले विधेयकको पक्षमा मतदान गरेपनि आवश्यक मत पुग्न सकेन । विधेयक पारितका लागि संसदमा हाल कायम ५ सय ९२ सदस्य संख्या मध्ये ३ सय ९५ मत आवश्यक थियो ।

संसदको आजको प्रमुख प्रतिपक्षी एमालेसहितको बिपक्षी गठबन्धन, राप्रपा लगायतका दलले विधेयकको बिपक्षमा मतदान गरेपछि संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएको हो ।

सभामुख ओनसरी घर्तीले विधेयक बहुमतले अस्वीकृत गरेको घोषणा गर्नुभएको हो । विधेयकको बिपक्षमा मतदान गर्न राप्रपाले आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको वातावरण निर्माणका लागि भन्दै सरकारले संशोधन विधेयक संसदको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेको थियो ।
गत चैतमा संसद सचिवालयमा दर्ता गराएको संशोधन विधेयक पारित हुने अवस्था नआएपछि सरकारले चार महिनापछि मात्र संसदमा निर्णयार्थ प्रस्तुत गरेको हो ।

सरकारले २०७३ साल चैतमा संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरेको थिये । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमांकन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न प्रस्ताव दर्ता गरेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.