बुटवल । भदौ ६। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सवैभन्दा जम्बो मन्त्रिपरिषद् बनाउनुभएको छ । सत्ता गठबन्धन टिकाउन जस्तो सुकै काम गर्ने भनेर विगतमा आलोचना खेप्ने गरेका प्रधानमन्त्री देउवाले यसपटक ५० सदस्सीय मन्त्रिपरिषद बनाउनुभएको हो ।
प्रजातन्त्रका बेला २०५३ सालमा प्रधानमन्त्री बन्दा पनि देउवाले त्यसवेलाको सवैभन्दा ठुलो ४८ सदस्सीय मन्त्रीपरिषद बनाउनुभएको थियो । उक्त रेकर्डलाइ तोडेर २०६८ सालमा बाबुराम भट्टराइ प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषदको संख्या ४९ पुर्याउनुभएको थियो ।
भट्टराइको रेकर्ड तोड्दै यसपाली प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् सदस्य संख्या ५० बनाउनुभयो । यो गणतन्त्र स्थापनापछिको सवैभन्दा ठुलो संख्या पनि हो ।
सरकारमा नेपाली कांग्रेसबाट १२ जना र फोरम लोकतान्त्रिबाट ३ जना सहित थपिएका १५ जना राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाले आज पद तथा गोपनीयताको शपथ गराउनुभयो। नेपाली काँग्रेसबाट सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात , उदय शमशेर राणा अर्थ, शेषनाथ अधिकारी शिक्षा, सरिता प्रसाइ कृषि, नरवहादुर चन्द वाणिज्य राज्यमन्त्री बन्नुभएको छ । यस्तै अब्दुल रज्जाक खानेपानी, तप्तवहादुर विष्ट संचार, अमरसिंह पुन सिंचाई, दिलमान पाख्रिन कानून, डिल्ली चौधरी श्रम, तेजुलाल चौधरी युवा र चम्पादेवी खड्का सहकारी राज्यमन्त्री हुनुभएको छ ।
यस्तै फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी स्थानीय विकास, सुमित्रा थरुनी पर्यटन र यशोधा कुमारी लामा भूमिसुधार राज्यमन्त्री हुनुभएको छ ।
ग्ाणतन्त्र प्राप्तिपछि पुष्पकमल दाहाल -२०६५ भदौ २०) नेतृत्वको सरकारमा २४ सदस्यीय मन्त्रीपरिषद् थियो । यसैगरी माधवकुमार नेपाल -२०६६ साल जेठ ११) ४३ सदस्यीय मन्त्रीपरिषद्, झलनाथ खनाल -२०६७ माघ २३) ३६ सदस्यीय मन्त्रीपरिषद्, बाबुराम भट्टराई – २०६८ भदौ १२) ४९ सदस्यीय मन्त्रीपरिषद्, खिलराज रेग्मी मन्त्रीपरिषद्् अध्यक्ष बन्दा -२०६९ चैत्र २१) ११ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो ।
यसैगरी सुशील कोइराला -२०७० माघ २९)को सरकारमा २४ सदस्यीय मन्त्रीपरिषद्, केपी शर्मा ओली -२०७२ असोज २५)को पालामा २६ सदस्यीय मन्त्रीपरिषद् र यसअघिको पुष्पकमल दाहाल -२०७३ साउन २०) नेतृत्वको सरकारमा ४१ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो ।