बुटवल । भदौ २१ । प्रदेश नम्वर २ मा आगामी असोज दुई गते हुने स्थानीय तह निर्वाचनका लागि बुधवार १ सय ३६ तहमा उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
रौतहट, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा र पर्सा ८ वटा जिल्ला रहेको २ नम्वर प्रदेशमा बिहान १० वजेदेखि शुरु भएको मनोनयन दर्ता प्रकृया शुरु भएको हो । स्थानीय चुनावका लागि उमेम्दवारी दर्ता गर्न दलका उम्मेदवारहरु बाजागाजा र झाँकीसहित जिल्ला निर्वाचन आयोग कार्यालयहरुमा मनोनयन दर्ता गरेका थिए ।
दुई नम्बर प्रदेशमा १ महानगरपालिका ३ उपमहानगरपालिका ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । निर्वाचन आयोगले सबै तहका लागि दुई हजार १ सय ६६ मतदान स्थल र ३ हजार पाँच सय ७८ मतदान केन्द्र तोकेको छ ।
२ नम्वर प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन् । निर्वाचनवाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चयन हुनेछन् ।
स्थानीय तहमा शान्तिपूर्णरुपमा उम्मेदवारको मनोनयन दर्ताको काम भएको वारामा खटिएका सहायक मतदान अधिकृत नुमराज खनालले जानकारी दिनुभयो ।
जिल्लामा दश बजेदेखि स्वतन्त्र र साना दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराए भने दिउँसो एक बजेपछि सबै जिल्लामा ठूला राजनीतिक दलका स्थानीय तहका उम्मेदवारले उम्मेदवारी दर्ता गराउने समय तय गरिएको थियो ।
उम्मेदवार छनौटका विषयमा सिरहामा नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । उम्मेदवारी दर्ता शुरु भएसँगै सर्वसाधारण मतदाता उत्साही देखिएका छन् ।