प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक,आयोगले भन्यो–मन्त्रीपरिषद बिस्तार आचारसंहिता विपरित

काठमाडौ । भदौ २६ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दुवै चरणको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमवार कार्यतालिका प्रकाशित गर्दै पहिलो चरणमा उम्मेदवारी मनोनयपत्र दर्ताको समय कार्तिक ५ गतेका लागि तोकेको छ ।
पहिलो चरणमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न कार्तिक ८ मा प्रदान गर्ने र मतदानको समय मंसिर १० गते विहान ७ बजे देखि ५ सम्मका लागि तोकिएको छ ।
यस्तै दोस्रो चरण चुनावका लागि कार्तिक १६ गते मनोनयन पत्र दर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान १९ गते गर्ने कार्यतालिकामा उल्लेख छ । निर्वाचनको समय मंसिर २१ गते विहान ७ बजे देखि साझ ५ बजे सम्म चल्ने छ ।
आयोगले समानुपातिक तर्फ उम्मेदवारको बन्दसुची पहिला बुझाउन भन्दै पेश गर्नका लागि दलहरुलाई असोज २९ गतेको समय दिएको छ ।
यसैबीच निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तारले निर्वाचन आचार संहिता उल्लंघन भएको जनाएको छ । तीन मन्त्री र एक राज्यमन्त्रीको सपथ सकिए लगत्तै सोमवार विज्ञप्ति जारी गरेर आयोगले मन्त्रीपरिषद् विस्तारको कार्यले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पार्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

Comments

comments