काठमाडौ । असोज २ । स्थानीय तहको तेस्रो चरण अन्तर्गत सोमबार प्रदेश नम्वर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भैरहेको छ ।
मतदान साँझ ५ बजेसम्म हुनेछ । ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरिसकेकाले समय लम्विएपनि मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मतदानका लागि विहानैदेखि सर्वसाधारण मतदाताहरु उत्साहका साथ सहभागि भैरहेका छन । गर्मी भएकोले धेरै मतदाता विहानै मत हाल्न मतदान केन्द्र र स्थलहरुमा पुगेका छन । अहिलेसम्मको प्रारम्भिक नतिजा अनुसार ४० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।
३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको यो निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । जसमध्ये महिला १४ हजार ३ सय ७५ (३९ प्रतिशत) र पुरुष २२ हजार ८ सय ६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी बिहान ७ बजे नै मतदान गर्नुभएको थियो ।
यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट र नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गर्नुभएको छ ।
माओवादी नेता तथा स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।